काठमाडौं,२४ असार । प्रमुख प्रतिपक्षी दलहरुको अबरोधका कारण स्थगित संघीय संसदका दुबै सदनको बैठक आज बोलाइएको छ । यसअघि सभामुख देवराज घिमिरेले सदन सञ्चालनकालागि छलफल गरेपनि सहमति हुन नसक्दा दुबै सदन स्थगित भएका थिए । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ, भने राष्ट्रियसभाको बैठक दिउँसो साढे ११ बजे बोलाइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले गत सोमबार एक कार्यक्रममा बोेलेको विषयलाई लिएर एमालेले दुवै सदनक बैठक अवरुद्ध गर्दै आएको छ ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले जवाफ दिने बताइएको छ । राष्ट्रियसभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक पनि प्रतिनिधिसभामा टेबुल हुने कार्यसूची रहेको छ । त्यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० लाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ ।
यसैगरी,राष्ट्रियसभाको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, ऊर्जा मन्त्रालय, जलस्रोत तथा सिँचाइ मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको बजेटमाथि छलफल हुनेछ ।