काठमाडौं,२६ असार । चितवनको भरतपुरबाट नवलपरासी (बर्दघाट सुस्तापूर्व) को बर्दघाटसम्मको भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन खण्डलाई आगामी साउनभित्र सञ्चालनमा आउने भएको छ । आयोजनाअन्तर्गत प्राधिकरणले साउनभित्र प्रसारण लाइन सञ्चालन गर्ने तयारी गरेको हो । नवलपरासी वनयी त्रिवेणी गाउँपालिका–२ दुम्कीबासमा स्थानीयको अवरोध र सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण ०७७ चैतबाट यस खण्डमा पर्ने दुई वटा टावर निर्माण रोकिएको थियो ।
जसले गर्दा प्रसारण लाइन निर्माण पूरा हुन सकेको थिएन । नवलपरासीको दुम्कीबासमा भइरहेको अवरोधका कारण प्रसारण लाइन निर्माण गर्न नसक्दा भरतपुरबाट बर्दघाटतर्फ थप विद्युत् पठाउन नसक्ने अवस्था आएपछि प्राधिकरणले वैकल्पिक व्यवस्थामार्फत निर्माण सम्पन्न भएको खण्डलाई चार्ज गरेको थियो । प्रसारण लाइनको क्षमताले नधान्दा अहिले भरतपुरबाट बर्दघाटतर्फ विद्युत् प्रवाहका लागि समस्या रहेको प्राधिकरणले जनाएको छ ।