काठमाडौं । लुम्बिनी प्रदेशसभाको सोमबारको बैठक पनि विपक्षी दलको विरोध गरेकाले १ घण्टाका लागि स्थगित भएको छ । सभामुख तुलाराम घर्तीले बैठक सुरु गरे लगत्तै प्रमुख प्रतिपक्ष दल एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले बोल्नका लागि समय माग गरेका थिए । सभामुखले समय उपलब्ध गराएपछि उनले सरकारले विपक्षीले राखेका माग नसुनेको र सरकारले अर्कमण्यता देखाइरहेको भन्दै बैठक चल्न नसक्ने बताएका थिए ।
चौधरीले सरकारले निर्देशनालय खारेज गर्ने लिखित प्रतिबद्धता नआएको, क्रमागत योजनाका रकम कटौती गरिएको, थप दिने भनिएको क्रमागत योजना विपक्षी दलका लागि मात्र भन्दै सरकारका मन्त्रीबाटै गलतप्रचार गरिएको र मुख्यमन्त्रीले आफ्नो कोषमा राखेको ३ अर्ब रकमको विवरणको जवाफ माग गरेका थिए ।
चौधरीले आफ्नो कुरा राखेलगत्तै एमालेका प्रदेशसभा सदस्यहरूले उठेर विरोध बताएका थिए । सभामुख घर्तीले सरकारको ध्यानाकर्षण भएको, सभाका अन्य बैठकमा कुरा राख्न मिल्ने भन्दै बस्न आग्रह गरे पनि विपक्षी दलले विरोध गरिरहेपछि बैठक १ घण्टाका लागि स्थगित भएको हो ।