पोखरा, १६ असार । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलय राष्ट्रिय समन्वय परिषद्को सचिवालयको आयोजनामा शनिबार पोखरामा राष्ट्रिय समन्वय परिषद्को प्रथम बैठक सुरू भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बैठकमा सुरु भएको हो ।
प्रधानमन्त्रीको अध्यक्षतामा हुने परिषद्मा अर्थ, कानुन, न्याय तथा संसदीय मामिला, गृह सहित संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री, प्रदेश सरकारका मुख्यमन्त्री, प्रतिनिधिसभामा विपक्षी दलको नेता वा निजले तोकेको संघीष संसद्को सदस्य र सातै प्रदेशबाट प्रतिनिधित्व हुने गरी गाउँपालिका, नगरपालिका वा जिल्ला समन्वय समितिका प्रमुख–उपप्रमुखमध्येबाट सात सदस्य रहने कानुनी व्यवस्था छ ।
विसं २०७७ साउन १३ गते तीन तहका सरकारबीच कार्यात्मक समन्वयका लागि संघ, प्रदेश र स्थानीय तह समन्वय तथा अन्तरसम्बन्ध ऐन जारी भएसँगै परिषद् कार्यान्वयनमा आए पनि यसको बैठक हालसम्म बस्न सकेको थिएन । संघ, प्रदेश र स्थानीय तहका साझा अधिकारमा कानुन, नीति बनाउनेदेखि ठूला आयोजना कार्यान्वयनमा तीनवटै सरकारबीच समन्वय गर्ने अधिकार सम्पन्न राष्ट्रिय समन्वय परिषद्को पहिलो बैठक भएको हो ।