काठमाडौं, श्रावण २१ । उत्पादनमा कमी र भारत निर्यात भएको कारण गोलभेँडाको मूल्यमा वृद्धि भएको व्यवसायीहरुको भनाई छन्। एक महिना अगाडि मात्रै नेपाली किसानहरुले उत्पादन गरेको गोलभेडाले बजार मूल्य नपाउँदा सडकमा फाल्नु परेको थियो। तर ठिक एक महिनापछि गोलभेडाको मूल्य एक्कासी माथि पुगेको व्यवसायीहरुले बताए। उनीहरुले पछिल्लो समय किसानहरुले उत्पादन गरेको गोलभेडा भारतमा समेत जान लागेकाले बजार मूल्य बढेको बताए।
व्यावसायिहरुले केही समय पहिला नेपाल उत्पादन उच्च रहेको भारतमा पनि नगएको र नेपाली बजारमा १० रुपैयाँमा पनि नबिकेको भन्दै सडकमा गोलभेडा फालिएको बताए। कालिमाटी फलफूल तथा तरकारी बजारकी गोलभेडा व्यापारी तारादेवी मगरले तरकारीको मूल्यमा उतारचढाव आउनुको कारण उत्पादन कम भएको बताइन्। अघिल्लो वर्ष एउटा तरकारी धेरै खपत भयो भने अर्को वर्ष सबै किसानले एउटै तरकारी उत्पादन गर्नुको कारणले पनि यस्तो भएको उनको भनाइ थियो। उनका एक महिना अघि नेपाली उत्पादन गोलभेडा फालाफाल हुँदा भारतमा समेत गएन तर अहिले नेपाली उत्पादन गोलभेडा करिब ७० प्रतिशत भारतमा गइरहेको छ। भारत निर्यात नभएको भए ५० रुपैयाँ किलो भन्दा माथि जाने अवस्था थिएन।
अघिल्लो वर्ष यही समयमा प्रति क्रेट २००० सम्म रहेकोमा अहिले टनेलभन्दा बाहिरको गोलभेडा २ हजार ५०० र टनेलभित्रको २ हजार ८०० प्रति क्रेट मूल्यमा बिक्रि भइरहेको छ। अहिले नेपाली बजारमा गोलभेडा किलो १४० देखि १७० रुपैयाँसम्म छ। गोलभेडा व्यवसायी द्वारिका अधिकारीले विगतको तुलनामा यो वर्ष तरकारी सस्तो रहे पनि गोलभेडा अत्याधिक महँगो भएको बताए। बजारमा तरकारीको मूल्य घटबढ नहुनको लागि सरकारले उत्पादित तरकारीको निश्चित मूल्य तोक्नुपर्ने उनको भनाइ छ।
तरकारी व्यवसायी बद्रीलाल श्रेष्ठले गोलभेडाको मूल्य पछिल्लो ३० वर्षको अवधिमा यो वर्षको जस्तो उतारचढाव नभएको बताएका छन्। कालीमाटी बजार विकास समितिले आइतबारका लागि नेपाली गोलभेडाको मूल्य प्रतिकिलो १६८.३३ रुपैयाँ कायम गरेको छ।