काठमाडौं । धनुषाको सबैला नगरपालिका ७ स्थित श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष रामबाबु यादवले बचतकर्ताको रकम फिर्ता गरिदिने भएका छन् । बचतकर्ताको रकम लिएर सहकारी संचालक यादव एक वर्षदेखि फरार भएका थिए । पटक पटक आन्दोलन गरेका पीडितहरुले बुधवार उनलाई जनकपुरधाम ९ बाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा बुझाएको थियो ।
पक्राउ परेपछि सहकारी संचालक यादवले सबै बचतकर्ताको रकम फिर्ता गरिदिने कुरामा सहमती जनाएका हुन् । जिल्ला प्रहरी कार्यालयमै पीडितहरुसँग भएको छलफलमा सहकारी सञ्चालक यादवले रकम फिर्ता गर्न सहमत भएको प्रहरी प्रवक्ता डिएसपी बेदप्रसाद गौतमले बताए । उनका अनुसार सहकारी सञ्चालक यादवले १० हजार रुपैयाँसम्म बचत गरेका बचतकर्ताको नगद रकम नै फिर्ता गरे भने अन्य बचतकर्ताको रकम साउन मसान्त भित्र फिर्ता गर्ने कुरामा प्रतिवद्ध छन् ।