काठमाडौं,श्रावण १४ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट क्विन्टल सुन तस्करीबारे छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग गरेको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतमाथि नै छानबिन गर्नुपर्ने भएकाले उच्चस्तरीय समिति गठन गर्नुपर्ने एमालेका सांसदहरूको माग छ । सार्वजनिक लेखा समितिको आइतबारको बैठकमा एमाले सांसदहरूले यस्तो माग गरेका हुन् ।
एमाले सचिवसमेत रहेका सांसद योगेश भट्टराईले गृहमन्त्री र अर्थमन्त्रीमाथि पनि छानबिन गर्न प्रहरीले नसक्ने भएकाले उच्चस्तरीय समिति गठन गर्नुपर्ने बताएका छन् । सत्तारूढ दलका नेता सुन तस्करीमा संलग्न भएको आरोप लगाउँदै भट्टराईले सरकारलाई ध्यानाकर्षण पत्र लेख्नुपर्ने बताएका छन् । अनि मात्रै सत्यतथ्य बाहिर आउँछ । आजै सरकारलाई निर्देशन होस्, उनले भने । कांग्रेस सांसद तेजुलाल चौधरीले पनि सुन तस्करी प्रकरणमा समितिले छानबिन गर्नुपर्ने बताए ।
सत्तारूढ दल जसपाका सांसद प्रदीप यादवले लेखा समितिले उपसमिति गठन गरेर छानबिन हुनुपर्ने बताए । सार्वजनिक लेखा समितिले छानबिन गर्नसक्छ कि सक्दैन सार्वजनिक लेखा समितिले उपसमिति बनाएर छानबिन गरोस्, उनले भने ।कांग्रेस सांसद रामकृष्ण यादवले पनि सार्वजनिक लेखा समितिमा गृहमन्त्री र अर्थमन्त्रीलाई बोलाएर जानकारी लिनुपर्ने बताएका छन् । भन्सार प्रमुखलाई पनि समितिमा बोलाएर सुन तस्करीबारे प्रष्टिकरण लिनुपर्ने धारणा राखे ।
राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्कर गरी ल्याएको क्विन्टल सुन बरामद गरेको थियो । ठूलो परिमाणमा तस्करीको सुन बरामद भएपछि प्रमुख प्रतिपक्षी दल एमालेले गृहमन्त्री श्रेष्ठको राजीनामा माग्दै संसद् अवरुद्ध गरेको थियो ।