काठमाडौं,१५ असार । मनसुनी वायुको प्रभावले आजदिनभरि जसो भारी बर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर आँशिक देखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
यीनै क्षेत्रहरुमा भारीदेखि धेरै भारीवर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यसैगरी गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही तथा बाँकी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना छ । राति देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
साथै गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ–गर्जन÷चट्याङ्ग सहित भारी देखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै तथा बाँकी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । भारी वर्षा र हावाहुरीको सम्भावना रहेकोले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने महाशाखाले जनाएको छ । त्यसकारण भारी वर्षा, मेघ–गर्जन÷चट्याङ्ग, हावा हुरी, गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।