निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीबाट दुईपटक निर्वाचित भइसकेका व्यक्ति पुनः समानुपातिक उम्मेदवार हुन नपाउनेगरि कानुनी प्रावधानको प्रस्ताव गरेको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, सहज र प्रभावकारी बनाउन आयोगले निर्वाचन प्रणालीलाई परिमार्जन गर्ने निर्णय गरेको हो । आयोगको आज बसेको बैठकले तीन तहका कुनै पनि निर्वाचनमा उम्मेदवार भई पराजित भएका व्यक्ति सम्बन्धित क्षेत्रकै उपनिर्वाचनबाहेक त्यही पा“च वर्षे कार्यकालमा अन्यत्र र अन्य कुनै तहको चुनावमा उम्मेदवार हुन नपाउने कानुनी प्रबन्धको प्रस्ताव गरेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । त्यस्तै आयोगले कुनै एक राजनीतिक दलको सदस्य रहेको व्यक्ति सदस्यता त्याग नगरेको अबस्थामा अन्य पार्टीबाट उम्मेदवार बन्न नपाउने व्यवस्था पनि प्रस्ताव गरेको छ । त्यस्तै, संघ र प्रदेशमा प्रत्यक्ष निर्वाचनकालागि ३३ प्रतिशत महिला प्रतिनिधित्व अनिर्वाय गर्ने प्रस्ताव गरेको छ । आयोगले कुनै मतदाताले कुनै पनि उम्मेदवारलाई समर्थन नरहेको भनी मतदान गर्न चाहेमा त्यसको व्यवस्था गर्ने प्रस्ताव अघि सार्ने निर्णय गरेको छ । त्यसमा ‘नोटा’ लेख्न सकिने आयोगले बताएको हो । आयोगले निर्वाचन सम्बन्धी कानूनमा परिमार्जन गरी ‘निर्वाचन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ नेपाल सरकार गृह मन्त्रालय मार्फत संसदमा पेश गर्ने निर्णय गरेको हो ।