काठमाडौं । मिटरब्याज पीडितमाथि पटकपटक बलात्कार गरेको आरोपमा पक्राउ परेका सूर्जमान मालीविरूद्ध मानवबेचबिखन तथा ओसारपसार कसुरमा जाहेरी परेको छ ।
आइतबार पीडितले जिल्ला प्रहरी परिसर ललितपुरमा मानवबेचबिखनको कसुरमा जाहेरी दिएको एसएसपी शिद्धीबिक्रम शाहले जानकारी दिए ।
पीडितले मिटरब्याजमा लिएको ५ लाख तिर्न नसक्दा घर जग्गा नै कब्जा गरी आफूमाथि पटकपटक बलात्कार भएको भन्दै जाहेरी दिएकी छन् । पीडितले माली र अर्का एक जनाविरूद्ध पनि जाहेरी दिएकी छन् ।
‘दुई जनाविरूद्ध जाहेरी आएको छ । अर्का एकको खोजी भइरहेको छ,’ एसएसपी शाहले भने । ललितपुर प्रहरीले मालीलाई ठेंचोस्थित घरबाट शुक्रबार पक्राउ गरेको थियो ।