काठमाडौं, श्रावण २८ । अर्थमन्त्री प्रकाशशररण महतले आयातकर्ता तथा करदातालाई अप्ठ्यारो पारेर कतिपय कर्मचारीले आफ्नो फाइदाका लागि बार्गेनिङ गर्ने गरेको रिपोर्टिङ मन्त्रालयमा आएको बताएका छन् । भन्सार विभागले आयोजना गरेको भन्सार व्यवस्थापन गोष्ठीमा मन्त्री महतले कर्मचारीले इमान्दार भएर काम गर्ने हो भने लक्ष्यअनुसारको राजस्व संकलन हुने बताए ।
तर सबैलाई एउटै बास्केटमा हालेर भन्सार नेतृत्वले मूल्यांकन गर्न नहुने उनको भनाइ छ । कर्मचारीको सोचमा परिवर्तन आउन जरुरी भएको उनले बताए । अब प्रविधिको उच्चतम उपयोग गर्नुको विकल्प नरहेको मन्त्री महतले बताए । वीरगञ्ज भन्सारको उदाहरण दिँदै मन्त्री महतले भने त्यहाँ ठूलो एक्सरे मेसिन प्रयोग नगरी वर्षौं त्यत्तिकै थन्काएर राखिएको छ । गत वर्ष ६० प्रतिशत राजस्व उठेकोमा यो वर्ष इमान्दार भएर काम गरियो भने सय प्रतिशत पुग्ने उनको दाबी छ ।