काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारी ठगीबारे सत्तारुढ दलका नेतामाथि छानबिन गर्न माग गरेको छ । आइतबार प्रतिनिधि सभामा पार्टीका तर्फबाट विशेष समयमा बोल्दै उपसभापति डोल प्रसाद (डिपी)अर्यालले यस्तो चुनौती दिनुभएको हो ।
उपसभापति अर्यालले राज्यको उच्च निकायमा पुगेका पूर्व र वर्तमान सबै नेता र पदाधिकारीहरूको सम्पति छानबिनका लागि उच्चस्तरीय शक्तिशाली छानबिन आयोग बनाउन पनि माग गरेका छन् ।
उनले सरकार सत्तारुढ दलका नेता जोगाउनेमा केन्द्रित रहेको दोहोर्याए । आफ्नो पार्टीका सभापति रवि लामिछानेमाथि प्रतिशोधका आधारमा दुःख दिने काम भएको उनले बताए ।
यसको आधारमा सत्तारुढ दलका नेतामाथि छानबिन नहुने प्रवृति नै रहेको उनको भनाइ छ । संसदमा प्रश्न उठेपछि आफ्नो पार्टीका सभापतिमाथि छानबिन समिति बनेको उनले स्मरण गरे । यसैगरी आरोप लागेका नेताहरूमाथि वर्तमान सरकारले उच्चस्तरीय छानबिन आयोग बनाएर छानबिन गरिनुपर्ने उनको माग छ ।