काठमाडौं । भ्रमणको दोस्रो दिन आज प्रधानमन्त्री दाहाल र भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीबिच हैदरावाद हाउसमा उच्चस्तरीय भेटवार्ता हुनेछ। यीलगायतका विषयमा दिल्लीस्थित नेपाली दूतावासले अन्तिम तयारी गरिरहेको छ। दुई देशका प्रधानमन्त्रीको भेटवार्तालगत्तै संयुक्त पत्रकार सम्मेलन आयोजना गर्ने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
सोही अवसरमा दुई देशबिच हुने सहमति र सम्झौता तथा आगामी दिनमा हुने सहकार्यका दस्ताबेजमा दुई देशका सरोकारवाला उच्चाधिकारीले हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री प्रचण्डले भारतका राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनखडसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
त्यस्तै प्रधानमन्त्रीले नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल उद्योग परिसङ्घले संयुक्त रूपमा आयोजना गर्ने नेपाल–भारत व्यापार शिखर सम्मेलनलाई पनि सम्बोधन गर्नुहुने छ। त्यस्तै भारतस्थित नेपाली समुदायसँग पनि छुट्टै छलफल गर्ने कार्यतालिका छ। स्वदेश फर्कने दिन प्रधानमन्त्री दाहालले भारतका केही पर्यटकीय स्थलको अवलोकन भ्रमण गर्ने कार्यक्रम छ । जेठ २० गते साँझ प्रधानमन्त्री दाहाल स्वदेश फर्कनुहुने कार्यक्रम रहेको छ।
प्रधानमन्त्रीका रूपमा दाहालको यो चौथो भ्रमण हो। यसअघि २०६५ सालमा पहिलो पटक प्रधानमन्त्री हुनुहुँदा पहिलो औपचारिक भारत भ्रमण गरेका थिए । दोस्रो पटक २०७३ सालमा प्रधानमन्त्री भएपछि भारत भ्रमणमा गएका थिए । औपचारिक भ्रमणको एक महिना नबित्दै सोही वर्ष भारतमा आयोजित ब्रिक्स सम्मेलनमा सहभागी हुन भारत गएका हुन ।