काठमाडौं । विवाह मण्डपबाट प्रहरीले दुलाहा लाई पक्राउ गरेको छ । ५० लाख रुपैयाँ दाइजो मागेको आरोपमा एक जना दुलाहा लाई प्रहरीले विवाह मण्डपबाटै पक्राउ गरेको बताएएको छ । पक्राउ पर्नेमा सुनसरीको दुहबी नगरपालिका ६ घर भई हाल काठमाडौंको ताहाचल बस्ने ३२ वर्षीय अनुराग रौनियार रहेका छन् ।
अमेरिकाको ग्रिनकार्ड प्राप्त रौनियारको यही असार १२ गते काठमाडौंको नक्शालस्थित लिसेरा रिसेप्सन पार्टी प्यालेसमा विवाह हुँदै थियो । विवाह हुँदै गर्दा दुलाहा पक्षले मागेजति दाइजो नपाएको र जन्तीलाई पनि राम्रो स्वागत नगरेको भन्दै ५० लाख रुपैयाँ नपाए विवाह नगर्ने धम्की दिएका थिए ।
जबकि केटा पक्षले पटक पटक गरी २२ लाख रुपैयाँ समेत केटी पक्षबाट लगेको बुझिएको प्रहरीले बताएको छ । विवाद बढ्दै जाँदा बेहुलीलाई विवाह मण्डपमै गाली बेइज्जती तथा हातपात समेत भएपछि प्रहरी वृत्त मालीगाउँले बेहुला रौनियारलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।
रौनियार उपर विवाह सम्बन्धी कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।