काठमाडौं, श्रावण १० । बागमती प्रदेशले भोलि सार्वजनिक यातायातको भाडा घटाउने भएको छ । जेठमा ११ बागमती प्रदेशले भाडादर समायोजन गरेको थयो । नेपाल आयल निगमले १ साउनमा इन्धनको मूल्यमा स्वचालित प्रणाली लागू गरेपछि बागमती प्रदेशले फेरि गाडी भाडा समायोजन गर्न लागेको हो ।
मन्त्रालयको अनुसार बागमती प्रदेशमा चल्ने लामो रुटको सवारीमा २ दशमलव ३० प्रतिशत, मालबाहक सवारी साधन ट्रकमा ३ दशमलव १ प्रतिशत र सिटी बसहरुमा ३ दशमलव २६ प्रतिशतले भाडा घट्ने छ । काठमाडौं उपत्यकामा ७ किलोमिटरसम्म चढ्ने वित्तिकै सार्वजनिक यातायात (ट्याक्सी बाहेक) ले १९ रुपैयाँ भाडा लिने गर्थ्यो ।
बिहीबारदेखि भने १ रुपैयाँ घटेर चढ्ने वित्तिकै १८ रुपैयाँ भाडा लाग्ने छ । यस्तै उपत्यकामा ५ देखि १० किलोमिटर दुरीको भाडा २५ रुपैयाँ थियो भने बिहीबारदेखि २४ रुपैयाँ कायम हुनेछ । नयाँ भाडा दर अनुसार काठमाडौं–कुरिनटारसम्मको भाडा २ सय ८७ रुपैयाँ कायम हुनेछ । यसअघि २ सय ९४ रुपैयाँ थियो ।
यसै प्रकारले अन्य रुटहरुको पनि भाडा घट्ने मन्त्रालयले बताएको छ । ट्याक्सी हकमा भने अघिल्लो भाडादर समायोजन मै घटेकोले अहिलेलाई भाडा नबढाइएको मन्त्रालयले बताएको छ ।