Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

नायिका आलिया भट्टको कपडाको ब्रान्ड रिलायन्सले खरिद गर्दै


नायिका आलिया भट्टको कपडाको ब्रान्ड रिलायन्सले खरिद गर्दै

एजेन्सी । भारतिय नायिका आलिया भट्टले व्यवसाय गर्न थालेकि छन् । कपडाको ब्रान्ड एड—अ—मम्मा सुरु गरेको तीन वर्षमै भारतको ठूलो व्यापारिक घराना रिलायन्स इन्डस्ट्रिजले खरिद गर्दैछ। उनको ब्रान्डलाई रिलायन्सले ३ अर्ब भारतीय रुपैयाँ खर्चेर स्वामित्व लिन खोजेको हो। रिलायन्सले यसको स्वामित्व लिएको खण्डमा बलिउडमा स्थापित स्टारहरुले उपभोक्ताका अधिक प्रयोग गर्ने सामग्रीमा ब्रान्ड बनाउने काम बढ्ने लगानीकर्ता भाष्कर मजुमदर बताउँछन्। स्टार्टअपमा लगानी गर्ने मध्येका कलाकारमा भट्ट मात्रै छैनन्। दीपिका पादुकोणले पनि गत वर्ष छाला स्याहार सम्बन्धीको ब्रान्ड ल्याएकी थिइन्। त्यही समयमा उनका पति रणवीर सिंहले कस्मेटिक दुनियाँमा निकै ख्याति कमाएको सुगर कस्मेटिकमा लगानी समेत गरेका थिए।

बलिउडलाई नजिकबाट नियाल्नेहरुका अनुसार कलाकारहरुले गरिरहेको लगानीको कुनै नौलो विषय होइन। यो क्रम सन् २०१० देखि बढेको जानकारहरु बताउँछन्। बलिउडका हस्ती सलमान खानले पनि सन् २०१२ मा यात्रा नामक घुमफिर सम्बन्धी पोर्टलमा लगानी गरेका थिए। स्टार्टअपको दुनियाँमा भारत हाल विश्वकै तेस्रो स्थानमा रहेकाले पनि यसमा धेरै नै आकर्षित भएका छन् । सन् २०२२ मा १४ भारतीय कलाकारले १८ वटा स्टार्टअप कम्पनीमा लगानी गरेका थिए। ती कम्पनीहरुले हाल राम्रै मुनाफा कमाइरहेको तथ्यांक छ। कलाकारहरुले अधिकांश लगानी सीधै उपभोक्तामा पुग्ने सामग्रीमा लगानी गरेका छन्। यस्तै उनीहरुले केही रकम खाद्य प्रविधि, शैक्षिक प्रविधि र प्रविधिमा केन्द्रित व्यापारमा लगानी गरेका छन्।

बलिउडका सेलिब्रेटीहरु लगानीकर्ताका रूपमा पनि चिनिन चाहेको मूल्यांकन सल्लाहकार अविरल जैन बताउँछन्। ‘आलिया भट्टले आफ्ना दर्शकलाई कसरी आफ्नो ब्रान्ड प्रयोगमा ल्याउनका लागि आकर्षित गर्न सकिन्छ र कसरी घरमै सुरुवात गरेको व्यापारलाई सफल बनाउन सकिन्छ भनेर उदाहरण पेश गरेपछि कलाकारहरुमा लगानीकर्ता बन्ने र व्यापारमा छिर्ने चाहना बढेको छ। उनीहरु सेलिब्रेटी मात्रै होइन स्मार्ट लगानीकर्ता पनि बन्ने कोसिस गर्दैछन्’, जैनले भने। यता बलिउडकी चर्चित नायिक अनुष्का शर्माले पनि बिरुवाबाट मासुमा झैं पौष्टिकतत्व उत्पादन गर्ने कम्पनीमा लगानी गरेकी छिन्।

वित्तीय व्यवस्थापनका लागि विगतमा परिवारमा निर्भर हुने धेरै कलाकारमा हाल पैसा र लगानीको दृष्टिकोणमा धेरै बदलाव आएको छ। क्रिकेटमा लगानी गरेका बलिउड सुपरस्टार शाहरुख खान भने सफल व्यवसायी बनिसकेका छन्। यो हुलमा टाट पल्टिएका नामी कलाकार पनि छन्। बलिउडका अग्रज सुपरस्टार अमिताभ बच्चन र अर्का स्टार ज्याकी श्राफ भने व्यापारबाट टाट पल्टिए। उनीहरुको रेष्टुरेन्ट र फिल्म प्रोडक्सन हाउस दुवै चल्न सकेन। नवीन स्टारहरुले भने पैसा, घरजग्गा, पूर्वाधार जस्ता पुरातन क्षेत्रमा मात्रै नभएर लगानीलाई विविधीकरण गर्न थालेका छन्। ‘अचेलका स्टारहरुले लगानीलाई विविधीकरण गर्न थालेका छन्। उनीहरुले लगानीका परम्परागत क्षेत्रमा मात्रै नभएर नवीन सोच र धेरै संभावना भएका क्षेत्रमा लगानी गरेका छन्, इपिक क्यापिटलका सहायक निर्देशक नवजोत कौरले भनिन्।

भारतमा उद्यम गर्नेहरूले धेरै धनाढ्यका साथै सेलिब्रेटीबाट रकम पाइरहेको उनले बताइन्। विज्ञहरुका अनुसार ब्रान्ड र सेलिब्रेटीको सहकार्यले दुवैलाई फाइदा पुग्ने गरेको छ। स्टार्टअपहरुका लागि सेलिब्रेटीले प्रचार गरिदिंदा बजारमा छिट्टै विश्वास आर्जन हुनुका साथै सीधै लाखौं उपभोक्तामा उनीहरु सजिलै पुग्न सक्ने ब्रिथ क्यापिटलका सौर्य भुटानी बताउँछन्। ‘स्टार्टअपसँग यसै पनि थोरै पैसा हुन्छ। त्यसैले केही हिस्सा दिएर पैसाको बचत गर्नु आफैंमा एउटा स्मार्ट सोच हो। स्टार्टअप र सेलिब्रेटीको सहकार्य दुवैका लागि हितकर छ’, उनले भने।

उदाहरणका लागि मासुको विकल्प ल्याएको ब्लु ट्राइब फुड्सलाई यस्तै फाइदा भएको थियो। त्यसमा अनुष्का शर्मा र विराट कोहलीलाई कम्पनीले इक्विटी दियो। ‘हामीलाई मासुको वर्तमान मूल्य श्रृंखलाबारे उपभोक्तालाई सचेत गराउनुका साथै मासुको विकल्प दिनु थियो। हामीले अनुष्का र विराट मार्फत सचेतनाका साथसाथै ब्रान्डलाई पनि अर्को तहमा पुर्‍याउन सफल भयौं’, कम्पनीका प्रमुख वाणिज्य अधिकृत सोहिल वाजिरले बताए।

अग्रिम रुपमा नगद लिनुको सट्टा कम्पनीको इक्विटी लिंदा राम्रो व्यापार भएको खण्डमा उनीहरुले पनि राम्रै रकम पाउँछन्। त्यस रकमलाई उनीहरुले फेरि लगानी गर्न पाउँछन्। कोहली र शर्मा दुवै शाकाहारी हुन्। उनीहरु दुवै जनावरको अधिकारबारे वकालत गर्छन्। उच्च प्रोफाइलका भारतीय स्टार्टअपमा सञ्चालन द्वन्द्वका कारण विवादमा परेका छन्। पश्चिमा सेलिब्रेटी जे जेडले उबरमा २ मिलियन डलर लगानी गरेको खबर सार्वजनिक भएको छ। भारतमा पनि उपभोक्ताले धेरै प्रयोग गर्ने सेवा वा वस्तुमा धेरै लगानी आउनसक्ने भुटानी बताउँछन्। केही हदसम्म भट्ट र कट्रिना कैफले यसको संकेत देखाएका छन्। सार्वजनिक रुपमा सूचीकृत ई–कमर्स न्याकामा लगानी गरेर यसको सुरुवात गरिसकेका छन्।