Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

‘अतिवादी’ धर्मगुरुलाई चौधरी ग्रुपले नेपाल ल्याउँने विषय विवादित बन्दै ?


‘अतिवादी’ धर्मगुरुलाई चौधरी ग्रुपले नेपाल ल्याउँने विषय विवादित बन्दै ?

काठमाडौं । धार्मिक विद्वेष र सामाजिक सद्भाव भड्काउने भनेर आरोप लाग्दै आएका भारतीय धर्मगुरुलाई अग्रणी व्यापारिक घराना चौधरी समूहले नेपाल ल्याउन लागेको छ । चौधरी समूहले भारतको मध्य प्रदेशस्थित बागेश्वर धामका संस्थापक धीरेन्द्रकृष्ण शास्त्रीलाई पूर्वी नवलपरासीको दुम्कौलीमा रहेको शाश्वत धाममा ल्याउने भएको हो । चौधरी ग्रुप एवं सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक वरुण चौधरीको निमन्त्रणामा शास्त्री आउन लागेका हुन् । शाश्वत धामका व्यवस्थापक अशोक घर्तीका अनुसार शास्त्रीले आगामी भदौ २, ३ र ४ मा कथा वाचन गर्नेछन् । ‘हनुमन्त कथा वाचनका लागि शास्त्रीजी आउँदै हुनुहुन्छ,’ घर्तीले भने, ‘हामी तयारीमा जुटिरहेका छौं ।’

शास्त्री भदौ १ मा नेपाल आएर पशुपतिनाथको दर्शनपछि नवलपुर पुग्ने तयारी छ । उनी कथा वाचन अवधरिभर चौधरी ग्राम परिसरमै बस्नेछन् । उनको कथा वाचन समूह ५० देखि ६० जनासम्मको रहने भनिएको छ । शाश्वत धाम चौधरी समूहको उद्योग ग्राम परिसरमा रहेको छ । त्यहाँ पण्डाल लगाएर कथा वाचनस्थल तयार गरिएको छ । व्यवस्थापक घर्तीका अनुसार एक दिनमा करिब ११ हजार जनाले कथा सुन्न मिल्ने गरेर स्टेज तयार गरिँदै छ । प्रत्यक्ष उपस्थित नहुनेका लागि सामाजिक सञ्जाल तथा डिजिटल डिस्प्लेमार्फत कथा सुन्ने व्यवस्था मिलाइने घर्तीले जानकारी दिए ।

पछिल्ला दिनमा धार्मिक कथा वाचकका रूपमा उदाएका शास्त्री भारतमा हिन्दु सनातनीमाझ जति लोकप्रिय छन्, उत्तिकै विवादित छन् । उनीमाथि अन्धविश्वास तथा धार्मिक विद्वेष फैलाउने गरेको आरोप लाग्दै आएको छ । उनले हिंसा भड्काउने खालका घृणास्पद अभिव्यक्ति दिने गरेका छन् । भारतको हरेक धार्मिक सभामा उनले ‘हिन्दुस्थानमा रहना है तो सीताराम कहना है’ भन्ने गरेका छन् । त्यही कारण शास्त्रीलाई अतिवादी हिन्दुहरूको भने साथ छ ।

शास्त्रीले भारतलाई हिन्दु राष्ट्र बनाउनुपर्ने सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् । सबै हिन्दुलाई एक हुन र धर्म रक्षाका लागि हतियार उठाउन उनले सार्वजनिक अपिल नै गरेका छन् । हिन्दुको घरमाथि पत्थर चलाउनेको घरमाथि बुल्डोजर चलाउनुपर्ने अभिव्यक्ति दिएर उनले खास समुदायविरुद्ध उक्साउने प्रयाससमेत गरेका छन् । आफूलाई कट्टर हिन्दुवादीका रूपमा प्रस्तुत गर्दै आएका उनले मुस्लिम समुदायलाई लक्ष्य गर्दै उनीहरूलाई घर फिर्ता पठाउनुपर्ने बयानसमेत दिएका छन् । शास्त्रीले भूत–प्रेत हुने र त्यसको उपचार आफूले गर्दै आएको भनेर अन्धविश्वास पनि फैलाउने गरेका छन् । उनको सभामा ‘भूत–प्रेतलाई मानिसको शरीरबाट निकालिएका दृश्य’ देखाउने गरिएको छ ।

धार्मिक सहिष्णुता कायम रहेको मुलुकमा यस्ता विवादास्पद व्यक्तिलाई सत्तारूढ कंग्रेसका सांसदसमेत रहेका विनोद चौधरीको समूहले निम्त्याएको हो । मानवशास्त्री सुरेश ढकाल कट्टर धार्मिक मतका प्रवर्तक शास्त्रीले नेपालमा पनि विभाजक र विखण्डनकारी मतको प्रचार गर्ने खतरा रहेको बताउँछन् । उनी यसलाई भारतीय जनता पार्टीको अतिवादी हिन्दुत्वको राजनीति छिमेकमा पनि प्रसार गर्ने बृहत् योजनाको एक अंगका रूपमा टिप्पणी गर्छन् । ‘समाजमा एउटा विभाजक र अर्को संयोजक शक्ति हुन्छ, विभाजकले समाजलाई टुटाउँछ र संयोजक शक्तिले समाजलाई

जोड्छ,’ उनले भने, ‘तोकेरै हिन्दुबाहेक अरूलाई मानिस नगन्ने शास्त्री प्रवृत्ति स्पष्ट रूपले विभाजक शक्ति हो, नेपालजस्तो शान्त र सहिष्णु समाजलाई असर पार्ने गरी यस्ता विवादित व्यक्तिलाई ल्याउनु आपत्तिजनक मात्र होइन, गैरसंवैधानिक पनि छ ।’ उनले शास्त्रीजस्ता अतिवादका प्रवर्तकलाई राज्य र जनता दुवै चनाखो भएर नेपालमा मञ्च दिन नहुनेमा जोड दिए ।


शास्त्री आफूलाई बालाजी हनुमानको भक्त बताउँछन् । सबै कुरा हनुमानकै आशीर्वादले आफूले गर्दै आएको उनको भनाइ छ । उनी सभामा हजारौंका बीचबाट निश्चित मानिसलाई छनोट गरेर उनलाई परेका समस्या कागजमा लेखेर बताइदिने तथा समाधानका लागि निश्चित पूजा पाठको तरिका सुझाउने गर्छन् । छानिएका मानिसको समस्या सार्वजनिक रूपमै बताउने र सम्बन्धित व्यक्तिले त्यसलाई स्वीकार गर्ने देखिएका कारण उनीमाथि विश्वास गर्नेहरूको संख्या बढ्दै गएको हो । तर निश्चित मानिसलाई मात्रै तोकेर बोलाउने उनको तौरतरिकालाई लिएर शंका तथा प्रश्न उठ्दै आएको छ । शास्त्रीले सेटिङ गरेर खास मानिस छनोट गर्ने गरेको आरोप लाग्दै आएको छ । शास्त्री भने त्यसलाई चिर्न मिडियासमेतको उपयोग गर्छन् ।

शास्त्रीले सभाबाट कुनै पनि व्यक्तिलाई छानेर पठाउन मिडियाकर्मीलाई भनेको भिडियो सार्वजनिक भइसकेको छ । शास्त्रीले भन्ने गरेका छन्, ‘मैले कुनै चमत्कार गरेको होइन, यो सबै बालाजी महाराजको कृपाले हो, म जे बताउँछु, त्यो मैले होइन, बालाजीले बताएको हो ।’ उनले मञ्चमै आफूलाई ढोग्न आएकालाई ‘अछूत’ भनेर छुनबाट रोकेको र आदिवासी समुदायलाई ‘जंगली’ भनेको घटना पनि सार्वजनिक भएका छन् ।

भारतको अन्धश्रद्धा निर्मूलन समितिले आफूहरूले चुनेको व्यक्तिमाझ चमत्कार देखाउन शास्त्रीलाई सार्वजनिक चुनौती दिनुका साथै त्यसमा सफल भए ३० लाख रुपैयाँ पुरस्कार दिने घोषणा पनि गरेको थियो । चुनौतीलाई स्वीकार गर्नुको साटो शास्त्रीले आफूले गर्दै आएको कामलाई पुष्टि गर्ने विभिन्न भिडियो बाहिर ल्याएका थिए । व्यक्तिको समस्या बताउने उनको क्षमतालाई मनोवैज्ञानिकहरूले ‘माइन्ड रिडिङ’ कला भन्दै आएका छन् ।

मध्य प्रदेशको छतरपुर जिल्लामा रहेको खजुराहो मन्दिरका पुजारी हुँदै कथावाचक र भविष्य वक्ताका रूपमा शास्त्री चिनिएका हुन् । २७ वर्षीय धीरेन्द्रकृष्ण शास्त्रीले आफ्ना हजुरबुबा सैतुलाल गर्गको प्रेरणाबाट पूजापाठमा लागेको बताउने गरेका छन् । उनका हजुरबुबा खजुराहोस्थित प्राचीन शिव मन्दिरमा पुजारी थिए । शास्त्री डिजिटल मिडिया प्लेटफर्म उपयोग गरेर उनले आफूलाई धेरै मानिससमक्ष पु¥याउन सफल भएका छन् । राजनीतिक दलका नेता तथा सरकारका मन्त्रीहरू पनि उनको आश्रममा पुगेको तस्बिर आउन थालेपछि उनका अनुयायी दिन बढ्दै गएका हुन् । गत मेमा पटनामा आयोजित उनको सभालाई लिएर त्यहाँकै सत्तारूढ दलका नेताहरूले विरोध गरेका थिए । त्यसका बाबजुद पनि सभामा भीड लागेको थियो । कान्तिपुर राष्ट्रिय दैनिकबाट साभार, आजको कान्तिपुर दैनिकमा खबर छ ।