Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेपालले गर्यो २३ प्रतिशत गलैँचा निर्यात


नेपालले गर्यो २३ प्रतिशत गलैँचा निर्यात

काठमाडौं । नेपालको कुल निर्यात घट्दा पनि गलैँचा कार्पेटको निर्यात भने दोहोरो अंकले वृद्धि भएको छ । चालू आर्थिक वर्ष २०७९,८० को १० महिनामा कार्पेटको निर्यात २३.२१ प्रतिशतले बढेको हो । भन्सार विभागले हाल सार्वजनिक गरेको वैदेशिक व्यापारसम्बन्धीको तथ्यांक अनुसार वैशाखसम्म ९ अर्ब ४९ करोड २२ लाख ९३ हजार रुपैयाँको कार्पेट निर्यात भएको छ, जुन गत आवको तुलनामा १ अर्ब ७८ करोड ८३ लाख रुपैैयाँले बढी भएको हो ।

गत आवको वैशाखसम्म नेपालबाट सात अर्ब ७० करोड ३९ लाख रुपैयाँको कार्पेट निर्यात भएको थियो । चालू आवमा नेपालको कुल निर्यात २४.४९ प्रतिशतले घटेको छ । गत आवको १० महिनामा १ खर्ब ७३ अर्बको निर्यात भएको थियो । यसपालि १ खर्ब ३० अर्ब रुपैयाँमा झरेको छ  । त्यो अवस्थामा पनि गलैँचाको निर्यात भने बढेको हो । तथ्यांक अनुसार कार्पेट निर्यात हुने देशमा अमेरिका अग्र स्थानमा देखिएको छ ।

यो १० महिनामा उक्त देशमा पाँच अर्ब ८७ करोड ८८ लाख रुपैयाँको कार्पेट निर्यात भएको छ । दोस्रो स्थानमा भने जर्मनी रहेको छ, त्यहाँ ७३ करोड ९४ लाख रुपैयाँको कार्पेट निर्यात भएको छ  । यसैगरी, तेस्रो स्थानमा रहेको लन्डनमा ६३ करोड रुपैयाँको कार्पेट निर्यात भएको छ । नेपाल गलैँचा उत्पादक तथा निकासीकर्ता संघका अध्यक्ष तेन्जिङ शेर्पा भने अनुभूति हुने गरेरै कार्पेटको निर्यात नबढेको बताउँछन् । ‘सरकारी तथ्यांकले कार्पेटको निर्यात बढेको देखायो । तर, हामीले भने कार्पेटको निर्यात बढेको अनुभूति गरेका छैनौँ,’ उनले भने, यद्यपि पछिल्लो समय विश्व बजारमा नेपाली कार्पेटको माग भने बढ्दो क्रममा रहेको छ ।