Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सार्वजनिक सवारी आजदेखि नयाँ बसपार्कबाट सञ्चालनमा

काठमाडौँ महानगरपालिकाको निर्णय


सार्वजनिक सवारी आजदेखि नयाँ बसपार्कबाट सञ्चालनमा

काठमाडौँभित्रबाट उपत्यका बाहिरका विभिन्न जिल्लामा सञ्चालन हुने सार्वजनिक जिप तथा माइक्रोबस आजदेखि नयाँ बसपार्कबाट सञ्चालन भएका छन् । काठमाडौँ महानगरपालिकाले उपत्यकाको सार्वजनिक सवारी साधनलाई व्यवस्थित बनाउनका गत जेठ १९ गते एक सूचना जारी गरी असार १ गतेदेखि नयाँ बसपार्कभित्रबाट लामो, मध्यम तथा छोटो दूरीका सवारी साधन सञ्चालन गर्ने निर्णय गरेको थियो ।

सोही निर्णयको कार्यान्वयन गर्दै आजदेखि जिप तथा माइक्रोबस नयाँ बसपार्कभित्रबाट सञ्चालन भएका हुन् । काठमाडौँभित्रको बल्खु, कलङ्की, बालाजु, माछापोखरी, गोङ्गबु, कोटेश्वरलगायत क्षेत्रमा काउण्टर राखेर सञ्चालन हुँदै आएका माइक्रोबस पनि आजदेखि नयाँ बसपार्कभित्रबाट सञ्चालन भएका छन् । महानगरले आज बिहानैदेखि चक्रपथ क्षेत्रमा अव्यवस्थितरुपमा सञ्चालित टिकट काउण्टर हटाएको छ । कामपाका प्रहरी प्रमुख राजुनाथ पाण्डेले गोङ्गबु, कलङ्की क्षेत्रमा अव्यवस्थितरुपमा राखिएका टिकट काउण्टर हटाइएको जानकारी दिए ।

नयाँ बसपार्कभित्रबाट यातायात सञ्चालन गर्नका लागि यातायात व्यवसायीको सहकार्यमा लोत्से बहुउद्देश्यीय प्रालिले नयाँ टिकट काउण्टर निर्माणलाई तीव्रता दिएको छ । लोत्से बहुउद्देश्यीय प्रालिका मानव संसाधन प्रमुख पङ्कज मल्लले काठमाडौँ महानगरपालिकाले गरेको निर्णयको कार्यान्वयनका लागि नयाँ बसपार्कभित्र जिप तथा माइक्रोबसलाई नयाँ काउण्टर निर्माणको काम भइरहेको बताए ।

यसअघि नयाँ बसपार्कबाट पोखरा, नारायणगढ, डुम्रे, दमौली, लमजुङ, गोरखा, धादिङ, त्रिशूली बागलुङ, बेनी, स्याङ्जा वालिङ, बुटवल, भैरहवालगायत ठाउँका लागि ठुला सार्वजनिक सवारी साधनमात्र सञ्चालन हुँदै आएका थिए । त्यस्तै, कोटेश्वरबाट बीपी राजमार्ग हुँदै पूर्व जाने माइक्रोबस र बल्खुबाट हेटौँडा चल्ने टाटासुमो सञ्चालन हुँदै आएका थिए ।
काठमाडौँ उपत्यकाभित्र प्रवेश गर्ने सार्वजनिक सवारी साधनलाई व्यवस्थित गर्दै पार्किङका लागि कामपाले विसं २०५६ मा ल्होत्से बहुउद्देश्यीय प्रालिसँग सम्झौता गरी नयाँ बसपार्क सञ्चालनमा ल्याएको थियो । एक सय ६१ रोपनी क्षेत्रफलमा फैलिएको नयाँ बसपार्कमा आठ सयभन्दा बढी सार्वजनिक सवारी साधन राख्न मिल्ने क्षमता रहेको छ ।