सङ्घीय संसद् राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘आर्थिक विधेयक, २०८२’ र राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ माथि दफावार छलफल गर्ने कार्यसूची छ । ती विधेयकलाई पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाउने सम्भावित कार्यसूची तय गरिएको सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।
यस्तै, आज पाँचवटा संसदीय समितिको बैठक बस्दैछ । अर्थ समितिको बैठकमा ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३’ लाई संशोधन गर्न बनेको विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्नुहुने संशोधन प्रस्तावकर्ता सदस्यहरूसँग छलफल गर्ने कार्यसूची छ । यसैगरी, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ माथि छलफल गर्नेगरी निर्धारण गरिएको छ ।
कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ को सम्बन्धमा नेपाल कानुन व्यवसायी परिषद्सँग छलफल गर्ने कार्यसूची तय गरिएको छ । महिला तथा सामाजिक मामिला समितिको बैठकमा समितिको काम कारबाहीका बारेमा छलफल गरिनेछ । पूर्वाधार विकास समितिको बैठकमा ‘विद्युत् विधेयक, २०८०’ ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक, २०८१’ र सुनकोसी मरिण डाइभर्सन आयोजनाका बारेमा छलफल गर्ने कार्यसूची तय भएको छ ।