काठमाडौं, २५ असार । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको ११ महिनाको वित्तीय रिपोर्ट सार्वजनिक गरेको छ । सोमबार एक रिपोर्ट सार्वजनिक गर्दै बैंकले जेठ मसान्तसम्ममा बैंकहरुको निक्षेपमा उल्लेखनीय वृद्धि भएको जनाएको छ । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ४ खर्ब ४५ अर्ब १३ करोड (८.८ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप रु. २६६ अर्ब (५.७ प्रतिशत)ले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १२.२ प्रतिशतले बढेको छ २०८० जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ७.९ प्रतिशत, २५.६ प्रतिशत र ५९.८ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः ८.८ प्रतिशत, २७.१ प्रतिशत र ५७.१ प्रतिशत रहेको थियो । २०८० जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३६.७ प्रतिशत रहेको छ । २०७९ जेठ मसान्तमा यस्तो निक्षेपको अंश ३८.६ प्रतिशत रहेको थियो ।
बैंकको निक्षेप ११ महिनामा ४ खर्ब ४५ अर्बले बढ्यो