काठमाडौं, श्रावण २९ । कांग्रेस संसदीय दलको बैठकले क्विन्टल सुन तस्करी प्रकरणको छानबिन सरकारी निकायबाटै हुनुपर्ने पक्षमा उभिएको छ । उच्चस्तरीय छानबिन समिति गठबनको माग दलको बैठकमा केही नेताहरूले गरे पनि संसदीय दलको बैठकले भने त्यस्तो छानबिन समिति गठनको आवश्यकता देखिएको निष्कर्ष निकालेको हो । बैठकका निर्णय सार्वजनिक गर्दै प्रमुख सचेतक रमेश लेखकले यसमा सरकारी निकायले नै प्रभावकारी छानबिन गर्नुपर्ने बताए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट क्विन्टल सुन तस्करीको विषयमा गम्भीर ध्यानाकर्षण भएको छ । सबैको निगरानी भएको स्थानबाट सुन बाहिरिनु गम्भीर छ । यस्ता गैरकानुनी काम निस्तेज हुनुपर्छ‚ उनले भने‚ जो सुकै संलग्न भए पन कारबाही गर्नुपर्छ । सरकारी निकायले नै छानबिन गरिरहेकाले जोसुकै भए पनि कानुनी अभियोजन गर्नुपर्छ र सीआईबीले नै छानबिन गर्नुपर्छ । कार्यक्रममा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले सम्बोधन गरेका थिए । महामन्त्री थापाले राज्यका निकायलाई अविश्वास गर्न नहुने धारणा राखेका थिए ।
सुन तस्करी प्रकरणमा सरकारका निकायले छानबिन गर्नुपर्छ । राज्यका संस्थालाई हामीले अविश्वास गर्नुहुँदैन, थापाले बैठकमा भनेका थिए । उनले पूर्वसभामुख तथा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरामाथि पनि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले छानबिन गर्नुपर्ने बताएका थिए । माओवादीको पदाधिकारी बैठकले कृष्णबहादुर महरालाई प्रस्ट पार्न भनेछ ।
यो कुरा पार्टीको बैठकले भन्ने होइन‚ सीआईबीले छानबिन गर्नुपर्छ उनले भने । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साउन २ गते बाहिरिएको तस्करी गरिएको क्विन्टल सुनको छानबिन गर्न राज्यका निकाय नै अब्बल रहेको अर्का महामन्त्री शर्माको भनाइ थियो । छानबिन गर्ने अधिकारी अब्बल छन्, उनीहरूको शिक्षा र तालिम उत्कृष्ट हुने हुनाले अन्तिममा उनीहरूले नै गर्नुपर्छ, शर्माले भनेका थिए ।