काठमाडौ, २३ साउन । काठमाडौं उपत्यकामा मंगलबार बिहानदेखि भारी वर्षा भइरहेको हुँदा नदी क्षेत्रमा पानीको सतह बढेको छ । नदीमा उर्लँदो भेल बाढी आएको हुँदा ती स्थानका आसपासका बस्ती र सडकमा हिँड्दा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले मंगलबार सामाजिक सञ्जालमार्फत सूचना जारी गर्दै वाग्माती, विष्णुमती, धोविखोला, मनोहरा लगायतमा जलसतह बढ्दो रहेको जानकारी दिएको छ । ती नदीमा पानीको बहाव खतराको तहमा पुगेकाले नदी तटीय क्षेत्रहरूमा रहनेहरू र नदी किनारको सडकबाट यात्रा गर्नेहरूले आज दिउँसोसम्म उच्च सतर्कता अपनाउन महाशाखाले भनेको छ ।
यस्तै, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वाग्मती नदी खोकना, ललितपुर बाढीमापन केन्द्रमा जल सतहले खतरा तह पार गरेको र बढ्दो रहेकाले वाग्मतीको नदी तटिय क्षेत्रमा रहनेले दिउँसोसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । यसैबीच, सोमबार रातिदेखिको निरन्तरको वर्षापछि भक्तपुर डुबानमा परेको छ । आसपासका नदीमा जल सतह बढेपछि भक्तपुरको हनुमान घाट, राम मन्दिर क्षेत्र, शान्ति निकेतन स्कुल, सिद्धी स्मृति अस्पताल डुबानमा परेका हुन् ।सोमबार रातिदेखि मंगलबार बिहानैसम्म काठमाडौं उपत्यकामा भारी वर्षा भइरहेको छ ।