काठमाडौं । २०२३ को मे मा विदेशी पर्यटक आगमन कोभिड महामारीअघिकै अवस्थामा आएको छ । विभिन्न देशबाट ७७ हजार ७ सय ३ पर्यटक नेपालमा भ्रमणका लागि आएका छन् । कोभिडअघि सामान्य अवस्था रहेका वेला २०१९ मे पनि ७८ हजार ३ सय २९ पर्यटक भित्रिएका थिए ।
कोभिडले शिथिल बनेको मुलुकको पर्यटन क्षेत्रलाई मे महिनाको तथ्यांकले उत्साह थपेको पर्यटन बोर्डले बताएको छ । कोभिडका कारण २०२० मे मा भने ३१ जना मात्रै पर्यटक नेपाल भ्रमणमा आएका थिए । त्यस्तै २०२१ को मे मा १५ सय ३१ र २०२२ मे मा ५३ हजार ६ सय ८ पर्यटक नेपाल आएका थिए ।
मे महिनामा पनि सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन् । एक महिनामा भारतबाट ३६ हजार पाँच सय ७५, अमेरिकाबाट ८ हजार पाँच सय ४५, चीनबाट चार हजार ६ सय ६७, बेलायतबाट २ हजार ९ सय २७, अस्ट्रेलियाबाट दुई हजार एक सय ८४, बंगलादेशबाट २ हजार १ सय ८४, मलेसियाबाट १ हजार ३ सय २१, जर्मनीबाट १ हजार १ सय ६५, फ्रान्सबाट १ हजार ९७, साउथ कोरियाबाट १ हजार ३९ पर्यटक नेपाल भ्रमणमा आएका छन् ।