काठमाडौं । राष्ट्र बैंकको तथ्यांकले बैंक तथा वित्तीय संस्थामा निक्षेप बढि रहे पनि कर्जा प्रवाहको गति भने न्यून रहेको देखाएको छ । गत वैशाखसम्मको तथ्यांक अनुसार १० महिनामा बैंक तथा वित्तीय संस्थामा ३ खर्ब ७० अर्ब ७८ करोड निक्षेप संकलन भएको हो । गत असारको तुलनामा यो करिब ७.३ प्रतिशतको वृद्धि हो ।
अघिल्लो वर्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाको निक्षेप २ खर्ब ३१ अर्ब ३२ करोड ५.० प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप ११.४ प्रतिशतले बढेको छ । यस्तै, गत साउनदेखि वैशाखसम्म बैंक तथा वित्तीय संस्थाले कुल १ खर्ब ५३ अर्ब १७ करोड रुपैयाँ कुल कर्जा प्रवाह भएको छ ।
गत असारको तुलनामा यो ३.३ प्रतिशतको वृद्धि हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ५ खर्ब ४८ अर्ब १४ करोड १३.४ प्रतिशत ले बढेको थियो ।वार्षिक बिन्दुगत आधारमा २०८० वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ३।१ प्रतिशतले बढेको छ ।
यस्तै, ०८० वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.९ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६।७ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.४ प्रतिशत र ३६.६ प्रतिशत रहेको थियो ।