Saturday, May 31, 2025

२०८२ जेष्ठ १८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

विदेशी मुद्रा सञ्चिति सवा २४ खर्ब पुग्यो


विदेशी मुद्रा सञ्चिति सवा २४ खर्ब पुग्यो

काठमाडौं ।  विदेशी मुद्रा सञ्चिति सवा २४ खर्ब पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चैत महिनासम्म २४ खर्ब २६ अर्ब ८४ करोड रुपैयाँ पुगेको हो । गत महिनासम्म यस्तो सञ्चिति २४ खर्ब ०९ अर्ब २५ करोड रुपैयाँ रहेको थियो ।

त्यस्तै गत वर्षको असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ । यो सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा २१ खर्ब ३६ अर्ब ४६ करोड तथा बैंक तथा वित्तीय संस्थासँग २ खर्ब ९० अर्ब ३८ करोड कायम भएको छ ।

आर्थिक वर्ष २०८१—८२ को नौ महिनाको आयातलाई आधार मान्दा यो सञ्चितिले १७.१ महिनाको वस्तु आयात र १४.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । अघिल्लो महिनासम्म १७.२ महिनाको वस्तु आयात र १४.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने अवस्था थियो ।

समीक्षा अवधिमा चालु खाता २ खर्ब १० अर्ब २२ करोड रुपैयाँले बचतमा रहेको छ । गत महिनासम्म चालु खाता १८० अर्ब ८ करोडले बचतमा रहेको थियो । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ७९ अर्ब ८३ करोडले बचतमा रहेको   थियो ।

त्यस्तै समीक्षा अवधिमा शोधनान्तर स्थिति ३ खर्ब ४६ अर्ब २३ करोड रुपैयाँले बचतमा रहेको छ । फागुन महिनामा शोधनान्तर स्थिति ३ खर्ब १० अर्ब ३७ करोड रुपैयाँले बचतमा रहेको थियो भने अघिल्लो वर्ष ३ खर्ब ६५ अर्ब १६ करोड रुपैयाँले बचतमा रहेको थियो ।