काठमाडौं, १६ असार । पहिरोका कारण केही दिनदेखि नै बन्द रहेको मुग्लिन—नारायणगढ सडक खण्ड सञ्चालनमा आएको छ । शुक्रबार साँझ एकतर्फी रुपमा सञ्चालन भएको उक्त सडकखण्ड तुइन खोलामा ढुंगा खसेपछि शनिबार बिहान ३ बजेदेखि फेरि अवरूद्ध भएको थियो । भरतपुर डिभिजन सडक कार्यालयका अनुसार शनिबार दिउँसो उक्त सडकको अवरोध हटाएर पुन:सञ्चालनमा ल्याइएको हो ।
अति व्यस्त रहने यो सडकखण्डको मुग्लिननजिकै पर्ने तुइन खोलाछेउको पाखोबाट बुधबार रातिदेखि नै ढुंगा खस्न थालेको थियो । बिहीबार बिहान साढे ९ बजेतिर एक घण्टा अवरूद्ध भएको उक्त सडक दिउँसो १ बजेदेखि २८ घण्टा रोकिएर शुक्रबार साँझ ५ बजेबाट खुलेको थियो । सडक अवरुद्ध हुँदा ठूलो संख्यामा यात्रुहरूले घण्टौंदेखि सास्ती झेल्नु परेको थियो ।