काठमाडौं, १३ असार । ललिता निवास निवास जग्गा हिनामिना प्रकरणमा कूल ४०६ जना प्रतिवादीविरुद्ध प्रहरीले पक्राउ अनुमति लिएको छ । केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले बुधबार पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी दिएको हो । सीआईबीले मंगलबार सरकारी लिखत किर्ते गरेर बालुवटारस्थित ललिता निवासको जग्गा हिनामिना गरेको कसुरमा सातजनालाई पक्राउ गरेको थियो ।
जसमध्ये अदालतबाट यसअघि नै स्टे अर्डर लिएका सुरेन्द्रमान कपाली, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा र हुपेन्द्रमणि केसीलाई प्रहरीले कागज गराएर रिहा गरेको थियो । पक्राउ पर्ने अन्यमा पूर्व आयुक्त सुधिर शाह, व्यवसायी मीनबहादुर गुरुङ, तत्कालीन खरदार गोपाल कार्की र तत्कालीन शाखा अधिकृत धर्मप्रसाद गौतम रहेका छन् । ब्युरोका अनुसार जग्गा फिर्ता गर्ने २०९ जना, पशुपति टिकिन्छा गुठीको नाममा जग्गा दर्ता गरेका ११० जना, छुट जग्गा दर्ता गर्ने १३ जना, निवास परिसर विस्तार सट्टापट्टा तथा शोधभर्ना गर्ने ७४ जना रहेका छन् ।
माफियाको हातमा यसरी पुग्यो ललिता निवास जग्गा
तत्कालीन प्रधानमन्त्री भीमशमशेर जबराले बालुवाटारमा निर्माण गरेर सन्तानलाई हस्तान्तरण गरेको दरबार र २९९ रोपनी जग्गा रहेको कम्पाउण्ड क्षेत्र नै ललिता निवास हो । भीमशमशेरका नाति सुवर्णशमशेर (नेपाली कांग्रेसका नेता) ले पाएको ललिता निवास १ पुस २०१७ को ‘कु’ पछि राजा महेन्द्रले जफत गरे । यही जग्गा १७ मंसीर २०२१ मा राजपत्रमा सूचना प्रकाशित गर्दै क्षतिपूर्ति दिएर सरकारले आफू मातहत ल्यायो । उक्त राजपत्रमा ललिता निवास बाहेक अन्य पाँच स्थानका जग्गा र दरबार समेत सरकारले अधिग्रहण गरेको थियो ।
तर, राजनीतिक प्रतिशोधका आधारमा जफत भएको गलत व्याख्या गर्दै सुवर्णशमशेरका सन्तानले जग्गा आफू मातहत ल्याउन नक्कली मोही खडा गरी बेचबिखन गर्ने गरे । २०४६ सालको जनआन्दोलनपछि बनेको कृष्णप्रसाद भट्टराई नेतृत्वको अन्तरिम सरकारले प्रजातान्त्रिक आन्दोलनमा लागेका कारण पञ्चायतकालमा व्यक्तिको सम्पत्ति जफत भएको भए छानबिन गरेर फिर्ता गर्ने निर्णय गरेको थियो । त्यसका लागि गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाको संयोजकत्वमा बनेका सम्पत्ति फिर्ता गर्ने समितिले कुनै सिफारिश नगरे पनि डिल्लीबजार मालपोत कार्यालयले २५ कात्तिक २०४९ मा गैरकानूनी निर्णय गर्दै समरजङ्ग कम्पनीको जग्गा रुक्मशमशेर राणालाई नामसारी गरिदियो ।
डिल्लीबजार मालपोत कार्यालयको मिसिल नं. १०२४ बाट सुवर्णशमशेरका हकवालाहरू सुनिती राणा, शैलजा राणा र रुक्मशमशेर राणाको नाममा जग्गाको नामसारी गर्ने र अनधिकृत व्यक्तिलाई मोही कायम गरी जग्गाधनी दर्ता स्रेस्ता तथा प्रमाण पुर्जा बनाइदिने निर्णय भएको थियो । यसपछि विभिन्न मितिमा समरजङ्ग कम्पनीको जग्गा गुठीमा लैजान र नक्कली मोही खडा गरेर आफू तथा परिवारको मातहत ल्याउन भूमाफियाहरू डा.शोभाकान्त ढकाल, रामकुमार सुवेदी र मीनबहादुर गुरुङ मिलेर सक्रिय रुपमा लागेका थिए ।
१९८६ सालदेखि ८९ सालसम्म प्रधानमन्त्री बनेका श्री ३ महाराज भीमशमशेरले किनेको र पछि उनका शाखासन्तानमा हस्तान्तरण हुँदै आएको बालुवाटारको २९९ रोपनी जग्गा र त्यहाँ निर्मित दरबार आजभोलि ‘ललिता निवास’ भनेर चर्चित छ । मालपोतको अभिलेखअनुसार उक्त जग्गा भीमशमशेरले १९८८ सालमा खरिद गरेका हुन् । ललिता निवास भीमशमशेरले छोरा हिरण्यशमशेरलाई अंश दिए । पछि हिरण्यशमशेरबाट उनका छोरा सुवर्णशमशेरमा हस्तान्तरण भयो ।
सुवर्णशमशेरले २०१७ असार २९ गते श्रीमती श्वेतप्रभाका नाममा ५८ रोपनी तथा तीन छोरा कनक, काञ्चन र रुक्मशमशेरलाई ५७ रोपनीका दरले ‘हालैको बकसपत्र’ गरिदिए । बाँकी ६१ रोपनी ११ आना जग्गा आफ्नै नाममा राखेका थिए ।