काठमाडौं, श्रावण १४ । नेपाल धितोपत्र बोर्डले आफ्नै डाटा संकलनको सेन्टर स्थापना गर्ने घोषणा गरेको छ । चालू आर्थिक वर्ष २०८०,८१ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बोर्डले धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी तथ्यांक र जानकारीहरूको समुचित अभिलेख व्यवस्थापन तथा बोर्डमा प्रयोग भइरहेको र भविष्यमा प्रयोग हुने विभिन्न प्रणालीहरूको व्यवस्थापन गर्न आफ्नै डाटा सेन्टर स्थापना गर्ने घोषणा गरेको छ।
बोर्डले धितोपत्रको दोस्रो बजार कारोवारको भुक्तानी सुनिश्चितताका लागि राफसाफ सुनिश्चितता कोष प्रभावकारीरूपमा सञ्चालन गर्न आवश्यक सहजीकरण गर्ने बताएको छ । धितोपत्र बजार तथा वस्तु विनिमय बजारमा हुने कारोबारको अनुगमन तथा सुपरिवेक्षण गर्न अन्तर्राष्ट्रिय रूपमा प्रयोग भइरहेका एआईमा आधारित एकीकृत वास्तविक समय सुपरिवेक्षण प्रणालीको प्रयोगको गर्ने अध्ययन गर्ने बताएका छ ।बोर्डबाट सम्पादन गरिने कार्यहरूलाई उच्च प्रविधियुक्त तथा सूचना प्रविधिमैत्री बनाई छिटोछरितो सेवा प्रवाह गर्न सम्बन्धमा अध्ययन गर्ने बोर्डको नीति तथा कार्यक्रममा उल्लेख छ ।
धितोपत्र बजार तथा वस्तु विनिमय बजारमा हुने सूचना तथा विवरण प्रवाहको सहज एवम् सुदृढ व्यवस्था गर्न हाल प्रयोगमा रहेको विद्युतीय विवरण प्रवाह तथा प्राप्ति प्रणालीलाई अझ सुदृढ एवम् प्रभावकारी बनाउन बोर्डको रिपोर्टिङ ढाँचालाई प्रणालीमा समावेश गरी लागु गर्ने बोर्डले बताएको छ ।