Tuesday, June 03, 2025

२०८२ जेष्ठ २१, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

रासायनिक मल अभाव छैनः भुसाल


रासायनिक मल अभाव छैनः भुसाल

काठमाडौं, श्रावण १५ । कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसालले अहिले रासायनिक मल अभाव नरहेको बताए छ । प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको आजको बैठकमा उनले मल अभाव नरहेको जानकारी दिनुहुँदै वितरणमा केही समस्या देखिएको हुनसक्ने बताए। उनका अनुसार गत आर्थिक वर्ष २०७९,८० मा मल खरिद गर्न सरकारले कुल ३८ अर्ब रुपैयाँ बजेट विनियोजन गरेकामा ३३ अर्ब रुपैयाँ बराबरको मल आपूर्ति गरेको थियो । चालू आवका लागि ३० अर्ब रुपैयाँ बजेट विनियोजन भएको कृषिमन्त्री भुसालले बताए ।

गत आवमा खरिद भएको २५ हजार मेट्रिकटनबाहेक सबै नेपाल भित्रिसकेको उनले बताए । चालू वर्षको आगामी पुससम्म चाहिने मलका लागि ठेक्का प्रक्रिया अघि बढाइसकेको उल्लेख गर्दै मन्त्री भुसालले सरकारले ल्याउने मल गुणस्तरीय रहेको दाबी गरे।समयमा मल आयात हुन नसकेर अभाव सिर्जना भएको जिकिर गर्दै उनले यसको प्रमुख कारण स्थानीय सरकारले समयमा बजेट नपाउनु पनि रहेको बताए ।

विश्वका धेरैजसो मुलुकले रासायनिक मल प्रतिस्थापन गरेर जैविक तथा प्राङ्गारिक मलसहित प्राकृतिक कृषि प्रणाली अबलम्बन गरिरहँदा नेपालले रासायनिक मल कारखाना खोल्ने वा नखोल्ने बारे स्पष्ट धारणा बनाउन सक्नुपर्ने कृषिमन्त्री भुसालको भनाइ छ । तराईका विभिन्न जिल्लामा वर्षा नहुँदा साउन मध्यसम्ममा देशभर करिब ७७ प्रतिशत मात्रै रोपाइँ सकिएको जानकारी दिँदै उनेले यस वर्ष धान उत्पादन कम हुनसक्ने अनुमान गरे । अर्थ समितिको आजको बैठकमा किसानलाई सहज रुपमा रासायनिक मल उपलब्ध गराउने विषयमा छलफल भएको थियो ।

समितिको बैठकले अल्पकालिन रुपमा मल अभावको समस्या समाधानका लागि पर्याप्त मल आयात गर्न, ढुवानी तथा वितरणलाई प्रभावकारी बनाउने र दीर्घकालीन रुपमा समस्या समाधानका लागि कारखाना खोल्नका लागि भइरहेको प्रक्रियाबारे सम्बन्धित निकायसँग जानकारी लिएको थियो ।अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र लगानी बोर्डको कार्यालयले रासायनिक मलको माग तथा आपूर्तिको अवस्था र कारखाना खोल्ने विषयमा हालसम्म भएका प्रगतिबारे समितिलाई जानकारी गराएका हुन्

। ज्येष्ठ सदस्यका रुपमा समितिको सभापति रहेका विनोदकुमार चौधरीले रासायनिक मल खरिदका लागि पर्याप्त बजेट रहे,नरहेको, विनियोजित बजेट अनुसार खरिद प्रक्रिया अघि बढे,नबढेको, खरिद भएको मल ढुवानी भए,नभएको र गोदाममा पुगिसेकेको मल वितरणको अवस्थाबारे सन्बन्धित निकायमार्फत जानकारी माग गरिने बताए । यी प्रस्ताव माथि अर्थ समितिले थप छलफल गरेर सम्बन्धित निकायलाई निर्देशन दिने उनले बताए ।

समितिको आजको बैठकमा सांसदहरु ज्ञानेन्द्रबहादुर कार्की, सोमनाथ अधिकारी, मुक्ताकुमारी यादव, नारायणप्रसाद आचार्य, पूर्णबहादुर तामाङ, मेटमणि चौधरी, जुलीकुमारी महतो, अम्मरबहादुर रायमाझी, छिरिङ डम्डुल लामा (भोटे)लगायतले रासायनिक मल हरेक वर्षको समस्या रहेकाले यसलाई दीर्घकालीन रुपमा समाधान गर्नुपर्नेमा जोड दिएका थिए ।