काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले निमित्त प्रमुख प्रशासकीय अधिकृत भएका स्थानीय तहको संख्या शून्यमा झार्ने बताएका छन् । निमित्त प्रमुख प्रशासकीय अधिकृतका कारण सुशासन कायम गर्नमा नै समस्या भएको गुनासो आइरहेको बताउँदै उनले मन्त्रालय निमित्त प्रमुख प्रशासकीय अधिकृत रहेका स्थानीय तहको संख्या शून्यमा झार्ने निर्णय कार्यान्वयनमा लाग्ने बताए ।
स्थानीय तहको नेतृत्वले आफूखुसी निमित्त प्रमुख प्रशासकीय अधिकृत राख्दा पनि सेवा प्रवाहमा समस्या रहेको भन्दै मन्त्री मोदीले अब त्यसो हुन नदिने बताए । हामीले गत वर्षदेखि नै स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत हटाउनुपर्छ भनेर लागेका थियौं । अहिले त्यो संख्या १४२ मा झारेका छौं । देशमा सुशासन कायम गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो । सबै निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई एकैपटक हटाउन सम्भव भएन । आर्थिक वर्षको अन्तिम भएर पनि त्यसो गर्न नसकिएको हो । आफूखुसी निमित्त राख्ने र समस्या सिर्जना गर्ने गरिएको छ ।
शुक्रबार मात्रै मन्त्रालयको उच्चस्तरीय व्यवस्थापन समितिको बैठकले निमित्त प्रमुख प्रशासकीय अधिकृत भएका स्थानीय तहको संख्या शून्यमा झार्ने निर्णय गरेको थियो । कामकाज गर्ने प्रचलन निरुत्साहित गर्ने नीति लिने,व्यवस्थापन समितिको निर्णयमा भनिएको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत भएका स्थानीय तहमा अब दरबन्दीअनुसारका कर्मचारी खटाउने निर्णय पनि व्यवस्थापन समितिले गरेको छ ।
त्यस्तै, व्यवस्थापन समितिको बैठकले प्रदेश सचिवको जिम्मेवारीमा पनि कानुनबमोजिम तोकिएको पद तथा श्रेणीको कर्मचारी पठाउँदा ज्येष्ठताका आधारमा मात्रै पठाउने निर्णय पनि गरेको छ । बैठकले स्थानीय तहहरुले वेबसाइट, सफ्टवेयरलगायत सूचना प्रविधिको उपयोग गर्दा साइबर सुरक्षाको संवदेशीलताप्रति विशेष सजगता अपनाएर मात्र उपयोग गर्ने गराउने प्रबन्ध मिलाउने निर्णय पनि गरेको छ ।