२६ असार, धनगढी । सुदूरपश्चिम प्रदेशमा सत्तारुढ दलभित्रै आगामी आर्थिक वर्षको बजेटलाई लिएर असन्तुष्टि बढ्दै गईरहेको छ ।
सोमबार सत्तारुढ दल नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र एकीकृत समाजवादी पार्टीले यथास्थितिमा बजेट पास हुन नदिने निर्णय गरेपछि सरकार संकटमा परेको छ । गठबन्धनमै रहेका दलको यस्तो निर्णय लगत्तै मुख्यमन्त्री कमल बहादुर शाहले सोमबार बेलुकी सत्तारुढ दलहरुलाई वार्ताका लागि बोलाए तर वार्ता बिना निष्कर्ष टुंगिएको थियो ।
बैठकमा मुख्यमन्त्री शाहसहित आर्थिक मामिलामन्त्री नरेशबहादुर शाही र सामाजिक विकासमन्त्री झपट साउदलगायत भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवा, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रमेश धामी पनि सहभागी थिए ।
बैठकमा ठोस सहमति जुट्न नसकेको नागरिक उन्मुक्तिका संसदीय दलका नेता घनश्याम चौधरीले बताए । पहिलो चरणको बैठक बिना निष्कर्ष टुंगिएपछि मुख्यमन्त्री शाहले मंगलबार दिउँसो पुनः सत्तारुढ दलको बैठक बोलाएका छन् ।
सत्तारुढ दलभित्रै बजेटलाई लिएर असन्तुष्टि चुलिएको विषयलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बजेटमा भागबण्डाको लागि बार्गेनिङ’का रुपमा व्याख्या गरेको धारणा प्रस्तुत गरेका थिए ।
असार १ गते आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीले आगामी आर्थिक वर्षका लागि २९ अर्ब २६ करोड ५९ लाख ३२ हजारको बजेट प्रस्तुत गरेका थिए ।