Thursday, May 29, 2025

२०८२ जेष्ठ १६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

भिजिट भिसा प्रकरणमा आक्रमक प्रतिपक्षी, गृहमन्त्रीको राजिनामा माग गर्दै प्रतिनिधिसभाको बैठक अबरुद्ध


भिजिट भिसा प्रकरणमा आक्रमक प्रतिपक्षी, गृहमन्त्रीको राजिनामा माग गर्दै प्रतिनिधिसभाको बैठक अबरुद्ध

काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै प्रतिपक्षहरूले अवरोध गरेपछि प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ ।

नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका दलले संसद् बैठक अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि स्थगित गरे । त्यसपछि सभामुख घिमिरेले गर्नुभएको सहमतिको प्रयासमा सत्तारूढ र प्रतिपक्षी दलहरूले अडान नछाडेपछि सूचना निकालेर भोलि बिहान ११ बजेसम्मका लागि संसद् बैठक स्थगित गरेको संसद् सचिवालयले जनाएको छ ।

संसद्‍मा प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका सांसदले छानबिनका लागि उच्चस्तरीय समिति गठनको माग गरे भने रास्वपाका सांसदले आयोग गठन गर्नुपर्ने बताए । सत्तारूढ दलहरूले यो विषयमा गृहमन्त्री लेखकले बोल्न पाउनुपर्ने माग गरेका   छन् ।

प्रतिनिधिसभाको बैठक शुरू हुनासाथ विपक्षी दलका सांसदहरू उभिएको देखेर सभामुख घिमिरेले माओवादी केन्द्रका सांसद तथा पूर्वअर्थमन्त्री वर्षमान पुनलाई शुरूमा बोल्न दिए । बैठकमा बोल्दै पुनले भिजिट भिसा प्रकरणमा स्वयम् गृहमन्त्री लेखकको सचिवालय जोडिएको विषय गम्भीर भएको बताए ।

अनुसन्धान गर्ने विभिन्न निकायहरू गृह मन्त्रालयअन्तर्गत पर्ने भएकाले गृहमन्त्री पदमा रहुन्जेल निष्पक्ष छानबिन हुन नसक्ने विपक्षीहरूको तर्क छ । भिजिट भिसा प्रकरणमा संलग्नताबारे गृहमन्त्री र गृह मन्त्रालय दुवैले आफ्नो प्रतिरक्षा गर्दै आएका छन् ।

प्रतिनिधिसभाको आजको कार्यसूचीमा अर्थमन्त्री विष्णु पौडेलले वार्षिक आर्थिक सर्वेक्षण प्रतिवेदन पेश गर्ने तय भएको   थियो । नयाँ बजेट आउनुभन्दा केही दिनअघि सरकारले वार्षिक आर्थिक सर्वेक्षण प्रतिवेदन ल्याउने गरेको छ । तर बैठकमा अवरोध भएसँगै अर्थमन्त्रीले प्रतिवेदन पेश गर्नेबारे अन्योल देखिएको छ ।