काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले आन्तरिक खपत भएर बचेको विद्युत् मात्रै भारतलाई निर्यात गर्ने सरकारको नीति रहेको बताएका छन् ।
प्रतिनिधिसभामा शुक्रबार भएको प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री दाहालले अहिले पनि नेपालमा खपत भएर बचेको विद्युत् निर्यात भइरहेको बताए ।
प्रधानमन्त्री दाहालले अहिले विद्युत् व्यापारका लागि सम्झौता भइनसकेको र आवश्यकताअनुसार निर्यात हुने परिमाणलाई मन्त्रालयका सचिवस्तरीय समितिले थपघट गर्न सक्ने व्यवस्था समेत रहेको बताए । उनले भने, ‘देशमा जलविद्युत् उत्पादनको सम्भावना अत्यधिक रहेको छ, र देशको समृद्धि हासिल गर्ने कुरामा ऊर्जा व्यापार महत्त्वपूर्ण हुनसक्ने तथ्य निर्विवाद रूपमा नै रहेको छ,’ प्रधानमन्त्री दाहालले ‘आन्तरिक खपतभन्दा बढी उत्पादन भएको विद्युत्लाई निर्यात गरेर मुलुकको आर्थिक विकासमा योगदान पुर्याउने लक्ष्य सरकारले लिएको छ । र देशको आन्तरिक खपतलाई हेरेर सरकारले अल्पकालिन, मध्यकालीन र दीर्घकालीन रूपमा सम्झौता गरिनेछ । हाल नेपाल सरकार एवम् निजी क्षेत्रबाट निर्माणाधीन आयोजनाहरूबाट समेत उत्पादन हुने विद्युत्मध्ये आन्तरिक खपत भएर बाँकी रहने विद्युत् मात्रै निर्यात गर्ने नीति नेपाल सरकारको रहेको स्पष्ट गर्न चाहान्छु ।’
प्रचलित कानुनको परिधिभित्र रही विद्युत् व्यापार सम्झौता हुने र त्यसका लागि अहिले तयारी भइरहेको प्रधानमन्त्री दाहालले जानकारी दिएका छन् ।