काठमाडौं श्रावण १९ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत गरिएको छ । नेप्से सिम्बोल आइएलआई राखेर साधारण सेयर कारोबारका लागि १ सय रुपैयाँ चुक्ता मूल्य कायम भएको चार करोड कित्ता सेयर सूचीकृत गर्ने सम्बन्धमा कम्पनी र नेप्से बीच सम्झौता भएको हो ।
कम्पनीले सर्वसाधारणसमक्ष सिभिल क्यापिटल मार्केट लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेर साधारण सेयर खुला बिक्री आह्वान गरेको थियो । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारी समेत सर्वसाधारणमा १ करोड २० लाख कित्ता अर्थात् ३० प्रतिशत सेयर वितरण गरेको र कम्पनीका संस्थापक सेयरधनीको २ करोड ८० लाख अर्थात् ७० प्रतिशत गरी चार करोड साधारण सेयर सूचीकरण भएको कम्पनीले बताएको छ ।
सूचीकरण सम्झौता सम्पन्न भएको दोस्रो दिनबाट धितोपत्रको कारोबार सुरु हुनुपर्ने भए तापनि उक्त दिन शुक्रबार र तत्पश्चत शनिबार पर्ने भएकाले आइतबारबाट कारोबार सुरु हुने बताइएको छ । सेयरको सूचीकरणपश्चात् दिनुपर्ने सेयर रजिस्ट्रारसम्बन्धी सम्पूर्ण कार्य ग्लोबल आइएमई क्यापिटलबाट हुने बताइएको छ । कम्पनीले देशभरि आफ्ना एक सय ४० शाखा तथा उपशाखा कार्यालयहरूमार्फत जीवन बिमासम्बन्धी सेवा दिँदै आएको बताएको छ ।