काठमाडौं ।वर्ल्डलिंकले ग्राहकहरूलाई इन्टरनेट स्लो भए पैसा फिर्ता गर्ने दाबी गरेको छ। वर्ल्डलिंकले ग्राहकलाई ढुक्क बनाउने सर्भिस ग्यारेन्टीको सुविधाअन्तर्गत यस्तो व्यवस्था सार्वजनिक गरेको हो।वर्ल्डलिंकले नेपालमा पहिलोपटक सर्त अनुसारको सेवा ग्राहकले नपाए रकम फिर्ता गर्ने योजना सार्वजनिक गरेको हो। ग्राहकहरूलाई वर्ल्डलिंकको इन्टरनेट स्पिड स्लो हुँदैन भन्ने विश्वास दिलाउन रकम नै फिर्ता दिने योजना ल्याएको हो कम्पनीले भनेको छ, हामी गुणस्तरीय सेवालाई प्राथमिकतामा राख्छौं ।
अहिले नेपालमा थुप्रै इन्टरनेट सेवा प्रदायक कम्पनीहरूबीच प्रतिस्पर्धा छ। यस्तोमा वर्ल्डलिंकले आफ्नो सेवामा ग्राहकहरूलाई विश्वास दिलाउन र गुणस्तरीय सेवा प्राथमिकतामा राख्दै यस प्रकारको योजना सार्वजनिक गरेको हो। हाल नेपालभर वर्ल्डलिंकको सात लाख ८० हजार बढी ग्राहक छन्। इन्टरनेट स्लो भए पैसा फिर्ता हुनेको योजना स्ट्यान्डर्ड अफर प्याकेज प्रयोगकर्ताहरूको लागि मान्य हुने कम्पनीले बताएको छ।
अर्थात् २०० एमबिपिएस, २५० एमबिपिएस र ३०० एमबिपिएसको इन्टरनेट प्रयोग गर्ने प्रयोगकर्ताहरू पर्छन्। यी बाहेक अन्य प्रयोगकर्ताहरूलाई भने यो योजना मान्य नहुने समेत कम्पनीले जनाएको छ। ग्राहकहरूले आफ्नो प्याकेज अपग्रेड गरेपछि भने यो योजना लागू हुनेछ। कम्पनीका अनुसार इन्टरनेट स्लो भए पैसा फिर्ताको सुविधा दिनकै लागि थप प्राविधिक कर्मचारीहरू परिचालन गरिनेछ। ग्राहकको इन्टरनेट स्पिड स्लो हुने बित्तिकै रकम फिर्ता हुने होइन।
स्ट्यान्डर्ड प्याकेज प्रयोगकर्ताहरूले आफ्नो स्पिड स्लो भएको बताएमा कम्पनीको शाखा कार्यालयमा फोन मार्फत वा अनलाइन सेवाबाट गराउनु पर्ने हुन्छ। यसपछि वर्ल्डलिंकले आफ्ना प्राविधिक कर्मचारीहरूलाई ग्राहकको ठेगानामा इन्टरनेट स्पिड जाँच गर्न पठाउछ। इन्टरनेट स्लो भएको कारण पत्ता लगाइन्छ। यसपछि पनि इन्टरनेट स्पिडको समस्या यथावत भए ग्राहकले सर्भिस ग्यारेन्टी सुविधा अन्तर्गत पैसा फिर्ता माग गर्न सक्नेछन्।
पैसा फिर्ता माग गर्दा ग्राहकले प्याकेज खरिदपछि सेवा लिन जति दिन बाँकी रहन्छ, सो बराबरको रकम मात्र फिर्ता पाउने व्यवास्था गरिएको छ। उदाहरणको लागि ९० दिनको प्याकेज लिएको ग्राहकले २५ दिन इन्टरनेट चलाइसकेको छ र त्यसपछि पैसा फिर्ता माग गर्छ भने ती ग्राहकले ६५ दिनको मात्रै रकम फिर्ता पाउने छ।
कम्पनीका अनुसार इन्टरनेट स्पिड स्लो भएको गुनासो पछि वर्ल्डलिंकका प्राविधिकले पनि समस्या समाधान गर्न नसकेपछि मात्रै पैसा फिर्ता हुने योजना लागू हुनेछ। वर्ल्डलिंकले देशभरका मुख्य सहरहरूमा यो सुविधा लागू हुने बताएको छ। जसमध्ये ५१ वटा शाखाका ग्राहकहरूले सुविधाको फाइदा लिन सक्नेछन्। यो सुविधा आगामी दिनहरूमा अन्य शाखाहरूमा समेत उपलब्ध गराउने कम्पनीले बताएको छ।वर्ल्डलिंकको सेवा दुर्गम क्षेत्रमा समेत पुगिसकेको छ। २७ वर्षअघि सञ्चालित यस कम्पनीको सेवा ७४ जिल्लामा पुगिसकेको छ।