काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले राजावादीको आन्दोलनलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्ति चिन्ताजनक रहेको बताएको छ ।
प्रवक्ता टीकाराम पोख्रेलले सोमबार जारी गरेको विज्ञप्तिमा आयोगले प्रधानमन्त्री ओलीको अभिव्यक्ति चिन्ताजनक भन्दै उत्तेजित अभिव्यक्ति नदिन भनेको छ । नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले जेठ १५ गते काठमाण्डौमा जनआन्दोलन शुरू गर्ने घोषणा गरेको छ ।
त्यही कार्यक्रमलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले हिजो आयोजित एक कार्यक्रममा जेठ १५ गते काठमाण्डौ एमालेको कब्जामा हुनुपर्ने बताएका थिए ।
प्रधानमन्त्रीबाट आएका यस्ता अभिव्यक्तिप्रति आपत्ति जनाउँदै आयोगले यस्ता अभिव्यक्ति आउनु मानव अधिकारका मूल्य–मान्यताको समेत विपरीत हुन जाने स्पष्ट पारेको छ ।
आयोगले अभिव्यक्ति दिँदा संयमित हुन, नकारात्मक टिप्पणी नगर्न र सुरक्षा निकायले राजधानीलगायतका क्षेत्रमा शान्ति सुरक्षालाई मजबुत बनाउन आग्रह गरेको छ ।
यस्तै राजतन्त्र पक्षधर संयुक्त जनआन्दोलन समितिले आन्दोलनको अनुगमन गर्न अनुरोध गरेको पनि आयोगले विज्ञप्तिमा उल्लेख गरेको छ ।