काठमाडौं । आर्थिक वर्ष २०८०,०८१ का लागि २ अर्ब १५ करोड ५४ लाख ८३ हजार रुपैयाँको घोराही उपमहानगरपालिकाले बजेट विनियोजन गरेको छ । नगर उपप्रमुख हुमाकुमारी डिसीले आइतबार नगरसभाको १३ औं अधिवेशनमा बजेट प्रस्तुत गर्दै देशको आर्थिक स्रोतमाथि देखिएको संकुचनका कारण बजेटको आकार चालू आर्थिक वर्षभन्दा ७.४५ प्रतिशतले घटाएको बताए । चालूतर्फ १ अर्ब २८ करोड ३ लाख ४० हजार अर्थात् ५९.४० प्रतिशत र पूजीगततर्फ ८७ करोड ५१ लाख ४३ हजार अर्थात् ४०.६० प्रतिशत बजेट विनियोजन भएको डिसीले बताए।
कुल विनियोजित बजेटमध्ये संघ सरकारबाट प्राप्त हुने सशर्त अनुदान ७६ करोड ५९ लाख रुपैयाँमध्ये ५ करोड ३१ लाख अर्थात् ६.९३ प्रतिशत पूँजीगत खर्च रहेको छ भने ७१ करोड २८ लाख अर्थात् ९३.०७ प्रतिशत चालू खर्च छ।त्यस्तै प्रदेश सरकारबाट प्राप्त हुने सशर्त अनुदान ४ करोड ७८ लाख ५० हजारमध्ये ४ करोड ६४ लाख अर्थात् ९६.९७ प्रतिशत पुँजीगत र १४ लाख ५० हजार अर्थात् ३.०३ प्रतिशत चालू खर्च रहेको छ ।
संघ र प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान, राजस्व बाँडफाँड, रोयल्टी र आन्तरिक आयबाट १ अर्ब ३४ करोड १७ लाख ३३ हजार रुपयाा विनियोजन गरिएको छ । जसमध्ये ५६ करोड ६० लाख ९० हजार अर्थात् ४२.२० प्रतिशत चालू र ७७ करोड ५६ लाख ४३ हजार अर्थात् ५७.८० प्रतिशत पुँजीगत खर्च रहेको छ ।
कृषि उत्पादन र उत्पादकत्व वृद्धि, सामुदायिक विद्यालयको भौतिक सुधार, शैक्षिक गुणस्तर वृद्धि, आधारभूत स्वास्थ्य, उद्यमशीलताको विकास, रोजगारीका अवसर सिर्जना र सडक पूर्वाधारमा नागरिक पहुँच वृद्धिजस्ता कार्यक्रमलाई बजेटमा प्राथमिकता दिएको उनले बताइन् ।
यसैगरी खाद्यान्न बालीको उत्पादन र उत्पादकत्व वृद्धि गरी निर्यातलाई प्रवर्द्धन गर्ने र तरकारीमा आत्मिनिर्भरता विकास गर्ने, कृषि मोबाइल एप सञ्चालन, प्रत्येक नमुना माध्यमिक विद्यालयहरुमा स्वास्थ्यकर्मी व्यवस्थापन, लागूऔषध दुर्व्यसनीमुक्त नगर घोषणा र सिकलसेल एनिमिया रोगको नियमित जाँचका लागि मेसिन खरिद्मा बजेट विनियोजन भएको छ ।