काठमाडौं । आगामी आर्थिक वर्षका लागि ६ अर्ब ३१ करोड ७९ लाख ९० हजार रुपैयाँको बजेट भरतपुर महानगरपालिकाले प्रस्तुत गरेको छ। आइतबार १३ औं नगरसभाको अधिवेशनमा उपमेयर चित्रशेन अधिकारीले महानगरको बजेट प्रस्तुत गरेका हुन्। महानगरले आगामी वर्षमा आन्तिरिक आय एक अर्ब ७५ करोड हुने प्रक्षेपण गरेको छ।
अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ८३ करोड ९९ लाख ७५ हजार, केन्द्र तथा बागमती प्रदेश सरकारको राजश्व बाँडफाँटबाट प्राप्त ५४ करोड ८० लाख १५ हजार, जनसह भागिताबाट ५० करोड, सडक बोर्ड नेपालबाट ३ करोड र बैंक मौज्दात १ अर्ब ६५ करोड रहने प्रक्षेपण महानगरको छ। साथै अन्तर सरकारी अख्तियारी शीर्षकमा अनुमानित १ अर्ब १० करोड रुपैयाँ रहने प्रक्षेपण गरेको अधिकारीले बताए।
महानगरले चालू आर्थिक वर्षमा निर्माण सम्पन्न हुन नसकेका तथा भुक्तानी बाँकी रहेका र क्रमागत एवम् वहुवर्षीय ठेक्का भएका योजनाहरु समयमै सम्पन्न गर्नको लागि १ अर्ज ६५ करोड रुपैयाँ विनियोजन गरेको छ। वडास्तरबाटै कार्यक्रमहरु कार्यान्वयन हुनेगरी महानगरले सबै वडाहरुलाई २ करोड ७५ लाख रुपैयाँका दरले विनियोजन गर्ने प्रस्ताव गरेको छ। समपूरक र विशेष अनुदानअन्तर्गतका योजनाहरुको कार्यान्वयन गर्न समपुरक साझेदारी कोष स्थापना गरी कार्यान्वयनमा ल्याउनेगरी १० करोड रुपैयाँ छुट्टाएको छ।
महानगरभित्रका सडक खाल्डाखुल्डी नियमित मर्मत संभार गर्न ५ करोड रुपैयाँ विनियोजन गरिएको छ। दिगो फोहोर व्यवस्थापनको लागि व्यवस्थित ल्याण्डफिल साइट पूर्वाधार निर्माणको प्रारम्भ गर्न ३ करोड, केरुङ्गा तथा पुङ्गी खोलाले ओगटेको सार्वजनिक जग्गा संरक्षण एवम् पूर्वाधार निर्माण गर्न १ करोड ६५ लाख, महानगरपालिकालाई हरियाली बनाउन ४ करोड रुपैयाँ छुट्टाइएको छ। गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अधुरो कार्य पुरा गर्नका महानगरले ३ करोड रुपैयाँ विनियोजन गरेको छ।
यसको निर्माण पुरा गर्नका लागि संघीय सरकार, बागमती प्रदेश सरकारसँग साझेदारी गर्ने बजेट वक्तव्यमा उल्लेख छ।महानगरले सन् २०२४ लाई भरतपुर भ्रमण वर्ष घोषणा गरेको छ। संघ तथा प्रदेश सरकारसँग साझेदारी गर्दै यसको कार्यान्वयनका लागि २ करोड रुपैयाँ, भरतपुर–पोखरा–लुम्बिनी९गोल्डेन ट्रयांगल पर्यटन प्रवद्र्धन कार्यक्रम, महानगरभित्रका ३० पर्यटकीय गन्तव्यको प्रवद्र्धन, विकास, पर्यटन सूचना नक्सा तयार गरी कार्यान्वयनमा ल्याउने, पर्यटन क्षेत्रको विकास र विस्तारको गुरुयोजनाल तर्जुमा लगायतका लागि २ करोड रुपैयाँ छुट्टाएको छ।
चालू आर्थिक वर्षका लागि भरतपुर महानगरपालिकाले ६ अर्ब २१ करोड १९ लाख ७४ हजार रुपैयाँ आय र ६ अर्ब २१ करोड १९ लाख ७४ हजार रुपैयाँ व्यय अनुमान गरेको थियो। जेठ मसान्तसम्ममा अनुमानित आन्तरिक आयको ६६ प्रतिशत ९७ करोड ५८ रुपैयाँ आम्दानी गरेको छ। चालू आर्थिक वर्षको जेठ मसान्तसम्म चालु खर्च ६५ प्रतिशत तथा पुँजीगत खर्च ३५ प्रतिशत भएको छ।
गतवर्ष महानगरको चालूखर्च ६१ र पुँजीगत खर्च ३५ प्रतिशत थियो। आइतबार महानगरको नीतितथा कार्यक्रम प्रस्तुत गर्दै मेयर रेनु दाहालले दोस्रो कार्यकालको पद बहालीका अवसरमा गरिएका दुई निर्णयहरू सरकारी स्वास्थ्य संस्थामा जन्मने भरतपुर महानगरवासीका छोरी सन्तानको १ लाख रुपैयाँको १५ वर्ष अवधिको जीवन बीमा र खानेपानी उपभोक्ताहरूको ७ हजार लिटरसम्मको महसुल महानगरपालिकाले भुक्तानी गरिदिने सम्बन्धी निर्णय कार्यान्वयनमा ल्याएको बताएकी छन्।