काठमाडौं । प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले मिटरब्याजी प्रकरणमा राजनीतिक दलका ठूला नेता र प्रहरीका उच्च अधिकारीहरूको संलग्नता रहेको बताए ।आइतबारको प्रतिनिधिसभा बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० को सम्बन्धमा छलफलमा भाग लिँदै उनले मिटरब्याजीको संरक्षक राजनीतिक दलका ठूला नेताहरू भएको बताएका हुन् ।
उनले सो प्रकरणमा राष्ट्रसेवक कर्मचारी र प्रहरीका उच्च पदस्थ कर्मचारीहरू संलग्न रहेको आरोप लगाएका हुन् । मिटरब्याजविरुद्धमा राम्रो ऐन बन्नुपर्ने र पीडितलाई न्याय दिन सक्नुपर्ने उनले बताए ।‘मिटरब्याजीको प्रकरण धेरै गम्भीर विषय हो । राजनीतिक दलका ठूला नेताहरूको संरक्षणमा यी कामहरू भएका छन्,उनले भने, प्रहरीका उच्च अधिकारीहरू संलग्न छन् । सामन्तवादको अवशेषको रुपमा अहिले पनि छ।
मिटरब्याजपीडितहरूलाई न्याय दिन र पीडकहरूलाई कारबाही गर्ने वातावरण निर्माण गर्नुपर्ने उनले बताए र आज सरकारले मिटरब्याज पीडितहरूलाई न्याय दिन होइन । झुक्याउनका लागि यो विधेयक सदनमा पेस गरेजस्तो गर्दै छ । पीडितहरूप्रति न्याय दिने इमानदारिता देखिएको छैन भन्ने कुरा यसले पुष्टि गर्छ, उनले भने, राष्ट्रिय सभाले फास्ट ट्र्याकमा पास ग¥यो । अहिले प्रतिनिधिसभामा आएको छ ।
सांसदको हातमा आजसम्म पनि यो विधेयक छैन । हामीले वैचारिक, सैद्धान्तिक छलफल गर्दै छौं । चाहिने डकुमेन्ट हामीसँग छैन तर पनि छलफलमा बस्नुपर्ने अवस्था छ । उनले प्रतिनिधिसभामा आएको केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० मिटरब्याज पीडितलाई न्याय दिनका लागि नभई झुक्याउनका लागि ल्याएको बताएका छन् ।