हेटौँडा । प्रदेश सरकारले लागू गरेको २० प्रतिशत करको विरोध गर्दै सामुदायिक वन उपभोक्ता महासंघ बागमती प्रदेश समितिको अगुवाइमा हेटौँडास्थित बागमती प्रदेशको मुख्यमन्त्रीको कार्यालयमा आइतबार धर्ना दिएका छन् ।
सामुदायिक वन उपभोक्ता महासंघ बागमती प्रदेश अध्यक्ष बिनोद सापकोटाले आइतबारदेखि ५ दिन लगातार बिहान १० बजेबाट १२ बजेसम्म धर्नामा बस्ने जानकारी दिनुभएको छ ।
बागमती प्रदेशका १३ वटै जिल्लाका सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी लगायत सदस्यहरु धर्नामा छन् । आफ्नो माग पुरा नभएसम्म धर्नामा बस्ने र छैठौं दिनदेखि रिले अनसनमा जाने सापकोटाले बताउनुभयो ।
जनताको विरुद्धमा नियम बनाई कुर्सीमा बसेको भन्दै आफ्नो हकका लागि आन्दोलन भैरहेको उपभोक्ता समितिको भनाइ छ । धर्नामा बस्नुभन्दा ३ दिनअघि महासंघले ज्ञापनपत्र बुझाएको थियो ।