काठमाडौं । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले आजबाट आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले सर्वसाधारणका लागि कुल २२ लाख ७६ हजार ६२० कित्ता शेयर निष्काशन गर्न लागेको हो ।
स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरिएको शेयरमा पूर्ण आवेदन नपरेका कारण बाँकी रहेको ६ लाख १६ हजार ६२० कित्ता सहित गरी कुल २२ लाख ७६ हजार ६२० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो ।
कम्पनीले जारी पूँजी ८० करोड रुपैयाँको १० प्रतिशत अर्थात ८ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ८ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको थियो भने २ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका २ लाख कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरेको थियो।
त्यसैगरी, कम्पनीले ४० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र १ लाख कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि सुरक्षित गरेको छ । सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ ।
निष्काशन बन्द छिटोमा साउन ३१ गते हुनेछ भने ढिलोमा भदौ १० गते हुनेछ । आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ