काठमाडौँ । रास्वपाका सभापति एवं सांसद रवि लामिछानेले प्रमुख दलका शीर्ष नेताहरूबीच ’बार्गेनिङ’का आधारमा संसद् खुलाइएको आरोप लगाएका छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै सांसद लामिछानेले शीर्ष नेताहरूले आफ्नो स्वार्थका आधारमा जनप्रतिनिधिका आवाजलाई बन्धक बनाएको समेत आरोप लगाएका छन् ।
सुन प्रकरणको सम्बन्धमा शीर्ष नेताहरूको बैठक र छलफलले संसद् खोल्ने र अवरोध हुने तय भएको भन्दै यसप्रति उनले आपत्ति जनाएका हुन् ।
प्रमुख दलका शीर्ष नेताहरूको बैठकले संसद्को तालिका नै फेरिदिने गरेको भन्दै सांसद लामिछानेले आपत्ति जनाएका थिए । ’एकअर्काको अनुहार पनि हेर्न नचाहने शीर्ष नेताहरू भ्रष्टाचारका काण्ड हुँदा किन बैठक बसिरहनुभएको छ ?’ लामिछानेले भने ।
यस्तै सुन प्रकरणमा माओवादीका नेता कृष्णबहादुर महरा, उनका छोरा साथै ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र बाबुराम भट्टराईमाथि अनुसन्धान गर्नुपर्ने उनको भनाइ छ ।
सांसद लामिछानेले राज्यका निकायलाई विश्वास गर्न नसकिने भन्दै सुन प्रकरणमा छानबिन समिति आवश्यक रहेको बताएका थिए । सुन समातिए पनि यसका मुख्य दोषीलाई सरकारले उम्काउन खोजेको उनले शंका व्यक्त गरेका थिए ।
सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै एमालेका सांसदहरूले अवरोध गर्दा केही दिनयता संसद् पटक पटक अवरोध हुँदै आएको थियो । तर शीर्ष नेताहरूको छलफलपछि एमालेले संसद् खुलाउन सहमत भएको थियो ।