रौतहट,१४ असार । नेपालमै २ अर्ब लगानीमा रौतहटमा खुलेको प्राइम सेरामिक्स कम्पनीले उत्पादित टायल नेपाली बजारमा बिक्री वितरण थालेको छ । रौतहटस्थित बृन्दावन नगरपालिका ६ मा १० विघा क्षेत्रफलमा फैलिएको उद्योगले आफ्नो उत्पादन बिहीबारदेखि बजार पठाउन थालेको हो । प्राइम सेरामिक्सले आयातित टायल घटाउँदै स्वदेशी मागको एक चौथाइ पूरा गर्ने लक्ष्य लिएको जनाएको छ । आयातितभन्दा १५ देखि २० प्रतिशतसम्म सस्तो दरमा ग्राहकलाई स्वदेशी टायल प्रदान गरिने कम्पनीको दाबी छ ।
‘आकर्षक डिजाइनमा टायल उत्पादन गरी आयात प्रतिस्थापन गर्ने, विदेशी मुद्रा बाहिरिनबाट रोक्ने, रोजगारीको सिर्जना गर्ने तथा स्वदेशी माटो र अन्य कच्चा पदार्थको प्रयोग गरी आयातित टायलभन्दा १५–२० प्रतिशत सस्तो मूल्यमा उपलब्ध गराइने छ’ कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । हाल वार्षिक १५ अर्ब रुपैयाँ बराबरको टायल नेपालमा आयात हुने गरेको जनाउँदै कम्पनीले चर्को ढुवानी खर्च, उच्च भन्सार दर र अन्य अतिरिक्त खर्चका कारण नेपालमा अत्याधिक महँगो हुने गरेको जनाएको छ ।
उद्योगमा इटालियन बहुराष्ट्रिय कम्पनी साक्मीको सम्पूर्ण मेसिन प्रयोग भएकाले अन्य अन्तर्राष्ट्रिय ब्राण्डसँग समेत प्रतिस्पर्धा गर्न सक्ने क्षमता रहेको कम्पनीको दाबी छ । ‘स्वदेशमा उत्पादन भएकाले चाहेका बेला ग्राहकले टायलको माग गर्न सक्ने, आर्किटेक्ट तथा डिजाइनरसँगको परामर्शमा चाहनाअनुसारको डिजाइन विकास गर्न सकिनेछ भने मूल्य पनि सस्तो पर्नेछ’ कम्पनीले भनेको छ । कम्पनीले हाल अधिकतम २×४ फिटसम्मको आकारमा २५० डिजाइनभन्दा बढीको भित्ता र भुइँमा लाग्ने टायल उत्पादन गर्न थालेको छ । नेपालमा टायल ब्यापारको अनुभव बोकेको सीएमएस ग्रुप र फर्चुन भेन्चर्सद्वारा प्रवर्द्धिधत प्राइम सेरामिक्सको दैनिक डेढ लाख वर्गफिट उत्पादन क्षमता छ ।