काठमाडौं, श्रावण १५ । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीको पाटनस्थित विमानस्थलमा डेढ वर्षदेखि हवाई उडान बन्द भएको छ । उडान बन्द हुँदा १६ करोड रुपैयाँ खर्च गरेर बनेका विमानस्थल र टर्मिनल भवन लगायतका संरचना प्रयोगविहीन अवस्थामा पुगेका छन् । तीन वर्ष अघि ११ करोड रुपैयाँ खर्च गरेर २० मिटर चौडाइ ५८० मिटर लम्बाई रहेको विमानस्थल कालोपत्रे गरिएको थियो ।
तयपछि ५ करोड खर्च गरेर टर्मिनल भवनसमेत गरी यहाँ राज्यको १६ करोड रुपैयाँ खर्च भएको छ । –बैतडी–धनगढी १७ मिनेट हवाई दूरीमा समिट एयरले चार हजार रुपैयाँ भाडा लिएर उडान भर्दै आएकोमा २०७७ चैत १० गते यहाँ अन्तिम पटक उडान भएको थियो । हवाई उडान बन्द हुँदा बैतडीबाट आकस्मिक रूपमा प्रदेश राजधानी धनगढी जाने यात्रु र बिरामी समस्यामा परेका छन् ।विमानस्थल कालोपत्रे हुँदा सुखी भएका बैतडीवासी उडान बन्द हुँदा निराश भएका छन् भने राज्यको करोडौँ रकम खेर गएको स्थानीय वसन्त विष्टले बताए ।
सरकारले हवाई सेवा सुचारु गर्न सरकारी एयरलाइन्सलाई जिम्मेवारी दिनुपर्ने उनले बताए । यता पाटन नगरपालिकाका उपप्रमुख कमल सिंह बोहराले निजी क्षेत्रका हवाई कम्पनीले महँगो भाडा लिएर सातामा एक पटक मात्र उडान भर्दा यात्रु अभाव भएकाले उडान बन्द गरेको बताए। नियमित सेवा दिन भाडादर कम गरेर सातामा तीन पटक उडान गर्नुपर्ने र नेपाल विमान एयरलाइन्सले तत्काल सेवा विस्तार गर्नुपर्ने माग उनले राख्य । नेताहरूको जनतामा चुनावी नारा बनाएकाले यसलाई पूरा गर्नुपर्नेमा उनले जोड दिए ।

 
                             
                                     
	                                         
	                                         
	                                         
	                                         
	                                         
	                                         
                    .jpg) 
                     
                     
                     
                     
                    