काठमाडौं, १२ असार । सडक देखि सदनसम्ममा चर्चाको विषय बनेको पशुपतिनाथ मन्दिरको ज्योतिर्लिङ्गमा राखिएको सुनको जलहरीको तौल १०७ किलो ८०७ ग्राम देखिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार यसबारे परीक्षण गर्दा सुनको गुणस्तर २२ क्यारेट भएको पनि पाइएको छ । जलहरीबारे संसद्मा प्रश्न उठेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापतौल र गुणस्तर परीक्षण गरेको हो । अख्तियारले सोमबार जलहरीको परीक्षण सकेको छ ।
यद्यपि अन्तिम प्रतिवेदन बनिसकेको छैन । अख्तियारका प्रवक्ता भोला दाहालले अनुसन्धान कार्य चलिरहेकाले अन्तिम निष्कर्ष नआई केही नबोल्ने बताए । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि, सुनचाँदी महासङ्घको विज्ञ टोली, खानी तथा भू–गर्भ विभागका प्रतिनिधि र पशुपति क्षेत्र विकास कोषको निगरानीमा जलहरी नापतौल र परीक्षणपछि रुद्रगारेश्वरमा राखिएको छ । जलहरी राखिएको स्थानमा नेपाली सेनाले पहिलो घेरामा सुरक्षा प्रदान गरिरहेको छ । दोस्रो घेरामा सशस्त्र प्रहरी बलको टोली छ । नेपाल प्रहरी र पशुपति क्षेत्र विकास कोषबाट परिचालित निजी सुरक्षागार्डले पनि सुरक्षा प्रदान गरिरहेका छन् । उक्त स्थानलाई सिसिटिभीबाट निगरानी गरिएको छ ।
पशुपति क्षेत्र विकास कोषको कार्यालयका अनुसार बिहीबारसम्ममा सुनको जलहरी पुनः गर्भगृह अर्थात् ज्योतिर्लिङ्गमा राख्ने तयारी भइरहेको छ । एक पदाधिकारीका अनुसार जलहरी निकाल्ने बेलामै क्षमापूजा गरिसकिएकाले अब पुनस्र्थापित गरिने छ । कोषका प्रवक्ता रेवतीरमण अधिकारीले सुनको जलहरी निकालिए पनि नियमित पूजा आराधना सुरु भएको बताए । कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान प्रक्रिया टुङ्ग्याएपछि मात्रै जलहरीको विषयमा अघि बढ्ने बताए ।