काठमाडौं,२ साउन । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले असार १९ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (साउन २ गते) अन्तिम दिन रहेको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि निष्काशन गरेको आईपीओमा भने आवेदन दिने म्याद थप गरेको छ । स्थानिय बासिन्दाहरुले कम्पनीको आईपीओमा अब साउन ९ गतेसम्म आवेदन दिन सक्ने भएका छन् ।
कम्पनीले जारी पूँजी ८० करोड रुपैयाँको १० प्रतिशत अर्थात ८ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ८ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको हो । सो शेयरका लागि दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका वडा नं ५, ६, ७ र ८, बिगु गाउँपालिका वडा नं. ४ र कालिञ्चोक गाउँपालिका वडा नं. ३ का बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।
यसका साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने २ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका २ लाख कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरेको हो ।