काठमाडौं । सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीले आफ्नो पहिलो पाँचतारे होटल भैरहवामा सञ्चालनमा आएको छ ।२५ वर्षअघि सुदूरपश्चिमको कैलालीको टिकापुरमा ग्रामिणस्तरको खाजा पसलबाट सुरु भएको सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीको यात्रा पाँचतारे होटलसम्म आइपुगेको हो। यसअघि कटेज रेस्टुराँ, तीनतारे र चारतारे स्तरका सहित ३२ वटा शाखा सञ्चालन गरेको यो ग्रुपले भैरहवामा पहिलो पाँचतारे होटल सिद्धार्थ भिलासा सञ्चालनमा ल्याएको हो ।
भैरहवाको अञ्चलपुरमा चार बिघा क्षेत्रफलमा फैलिएको यो होटलमा सिद्धार्थले साढे २ अर्ब रुपैयाँ लगानी गरेको छ । सिद्धार्थ भिलासा लुम्बिनी प्रदेशको तेस्रो पाँच तारे होटल समेत बनेको छ । होटलमा डिलक्स एक्जुकेटिभ स्वीट, प्रेसिडेन्टियल स्वीट, स्वीट र ७२ वटा डिलक्ससहित चार तहका ८५ वटा कोठा छन् । ग्रुपका अध्यक्ष चिन्तामणि न्यौपानेका अनुसार होटलमा क्यासिनोको समेत सुविधा छ ।
हाल पाँचतारे होटल सफ्ट लञ्च भएको आगामी असोजमा ग्राण्ड ओपेनिङ सहित पूर्णरुपमा सञ्चालनमा आउने न्यौपानेले बताए । बुद्ध जन्मस्थल लुम्बिनी, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र भारतीय पर्यटकलाई मध्यनजर गरेर पाँच तारे होटलमा लगानी गरिएको न्यौपानेले बताए । होटलभित्रका सबै संरचनाहरुमा बुद्धको जीवनीसँग सम्बन्धित र बुद्धत्व झल्किने नामाकरण गरिएको उनले बताए ।
आन्तरिक र विदेशी पर्यटकमाझ बुद्ध जन्मस्थल लुम्बिनी र बुद्धको प्रचार गर्न पाँचतारे होटलका सबै पूर्वाधारमा बुद्धलाई जोडेका छौं’ न्यौपानेले भने ।२०५४ सालमा कैलालीबाट सुरु भएको सिद्धार्थ ग्रुपले छिट्टै चितवनको सौराहामा सिद्धार्थ भिलासाको दोस्रो शाखा सञ्चालनमा ल्याउने उनले बताए । त्यसपछि सिद्धार्थ बैभव र सिद्धार्थ बाटिका गरी तीन स्तरका लक्जरी होटल सञ्चालनमा ल्याउने योजना रहेको उनले बताए ।
रेष्टुरेन्ट तर्फ सिद्धार्थ कटेजलाई ब्राण्डिङ र विस्तार गर्ने र कर्मचारी समेतको लगानीको एस क्याफेहरु सञ्चालन गर्ने न्यौपानेले बताए । ग्रुपले आईटी, कृषि क्षेत्र र हस्पिटालिटी शिक्षा क्षेत्रमा समेत लगानी गरेर व्यवसायलाई विस्तार गरिरहेको छ । सिद्धार्थ भिलासामा ३ सय जनासहित ग्रुपले हालसम्म १६ सय जनालाई रोजगारी दिएको छ । ग्रुपका अध्यक्ष न्यौपानेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित र वृद्धि गर्न भारतसँगको हवाई रुट प्राप्तिमा सरकारले भारत सरकारसँग निरन्तर पहल गनुपर्ने माग गरेका छन् ।