काठमाडौं । गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा गलैंचा निर्यात २० प्रतिशतले बढेको छ । चालू आर्थिक वर्षको ११ महिनामा १० अर्ब ३२ करोड ४६ लाख ६६ हजार रुपैयाँ बराबरको गलैंचा ६८ वटा मुलुकमा निर्यात भएको भन्सार विभागले बताएको छ ।गत आर्थिक वर्ष सोही अवधिमा ८ अर्ब ५८ करोड ५३ लाख ८६ हजार रुपैयाँ बराबरको ३ लाख ९९ हजार ४२१ स्क्वायर मिटर गलैंचा निर्यात भएको थियो ।चालू आर्थिक वर्षको ११ महिनामा ४ लाख ४४ हजार ३६५ स्क्वायर मिटर गलैंचा निर्यात भएको हो ।
सबैभन्दा बढी गलैंचा अमेरिकामा ६ अर्ब ४१ करोड ९१ लाख १० हजार रुपैयाँको, जर्मनमा ८१ करोड १० लाख ५७ हजार, युकेमा ६८ करोड ९८ लाख ७५ हजार, इटालीमा ५६ करोड ७३ लाख ५ हजार, फ्रान्समा ३० करोड ८९ लाख ७३ हजार, क्यानडामा २३ लाख ७६ लाख ५४ हजार, बेल्जियममा २१ करोड २३ लाख ६ हजार, अष्ट्रेलियामा १८ करोड ४४ लाख २ हजार, चीनमा १७ करोड ११ लाख १० हजार, स्विट्जरल्याण्डमा १४ करोड ३९ लाख ९ हजार, अष्ट्रियामा ८ करोड ४५ लाख २४ हजाार रुपैयाँ बराबरको निर्यात भएको हो ।
मंगोलिया, भुटान, जिम्बाबे, पोल्याड, पोर्चुगल, पानामा, बहराइन, नर्वे, कुवेत, इन्डोनेसिया, ग्रिसलागयत ६८ वटा देशमा नेपालको गलैंचा निर्यात भएको विभागले बताएको छ । गत आर्थिक वर्षभर १० अर्ब ६२ करोड २६ लाख रुपैयाँ बराबरको निर्यात भएको विभागको तथ्यांक छ ।