Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

हुलाकी राजमार्गको पूर्वी खण्डमा पर्ने पुल निर्माणले गति लिन सकेन


हुलाकी राजमार्गको पूर्वी खण्डमा पर्ने पुल निर्माणले गति लिन सकेन


सुनसरी — तराईका भित्री बस्तीहरुमा यातायातको पहुँच पुर्‍याउने उद्देश्यले सुरु गरिएको हुलाकी राजमार्गको पूर्वी खण्डमा पर्ने पुल निर्माणले गति लिन नसक्दा निर्माण अझै अन्योल बनेको छ । हुलाकी सडक सञ्चालनमा आए झापाको मेची पुलबाट ९२ किलोमिटरमा कोशी प्रदेशको राजधानी विराटनगर पुगिन्छ । तर उक्त खण्डमा निर्माणाधीन पाँचवटा पुलका निर्माण कार्य लामो समयसम्म पूरा नहुँदा यातायात सञ्चालन हुन नसकेको हो ।
हुलाकी राजमार्ग अन्तर्गत पर्ने कन्काई नदीको निर्माणाधीन पुल बनाउन सुरु गरिएको १२ वर्ष बितिसकेको छ । आठ वर्षअघि नै बनिसक्नुपर्ने पुलको अहिलेसम्म ७५ प्रतिशत मात्र काम भएको छ । ठेकेदारले कामदारलाई समयमै काम गरेको पैसा नदिएकाले कामदार नै काममा नआउने गरेको शिवसतासी गाउँपालिकाका स्थानीय अरुण माझीले जानकारी दिए । हुलाकी राजमार्गको मेची पुलदेखि कोशी प्रदेश राजधानी विराटनगरसम्म ९२ किलोमिटरको बीचमा कन्काई लगायत पाँचवटा पुल बन्न बाँकी छन् । यी पुलहरु लामो समयसम्म निर्माण सम्पन्न हुन नसक्दा सर्वसाधारणलाई आवतजावत गर्न कठिन भएको सडक विभागका कर्मचारी नै स्वीकार गर्छन् । बाटो निर्माण सम्पन्न भएर कालोपत्र भइसक्दा पनि पुलकै कारण सडक सञ्चालनमा आउन नसकेको हुलाकी सडक आयोजना कार्यलय इटहरीका इञ्जिनियर प्रमोद खतिवडाले बताए ।

खतिवडाका अनुसार हुलाकी राजमार्ग अन्तर्गत मेची–रतुवा सडक खण्डमा पर्ने भुतनी खोलाको पुल निर्माण सुरु भएको सात वर्ष भइसक्दा पनि काम सकिएको छैन । ५ करोड ३० लाख ७६ हजार रुपैयाँमा लामा बाम्ती जेभी काठमाडौंले ठेक्का पाएको उक्त पुलको भौतिक प्रगति सात वर्षमा ९० प्रतिशत छ । सोही खण्डमा पर्ने बिरिङ पुलको निर्माण कार्यसमेत अन्तिम समयमा आएर रोकिएको छ । १५ करोड ५० लाख २८ हजार ६ सय रुपैयाँमा लामा मैनाचुली जेभीले ठेक्का पाएको उक्त सडक निर्माण सुरु भएको १२ वर्षमा ९५ प्रतिशत काम सम्पन्न भएको छ । सानो माइ खोला पुलको निर्माण कार्य पनि अझै पूरा हुन सकेको छैन । लामा बाम्ती जेभीले नै ६ करोड ७५ लाख ७३ हजार ३ सय ७० रुपैयाँमा ठेक्का पाएको उक्त सडक २०७३ सालमा निर्माण सुरु भएर २०७५ असारमा सम्पन्न भइसक्नुपर्नेमा ९० प्रतिशत मात्र भौतिक प्रगति भएको छ ।
पप्पु महादेव जेभीले ३४ करोड ९ लाख २ हजार ४ सय ७० रुपैयाँमा ठेक्का पाएको कन्काई पुलको अवस्था पनि उस्तै छ । २०६८ सालमा निर्माण सम्झौता भएर २०७२ जेठमा निर्माण सम्पन्न गर्नुपर्ने उक्त पुलको भौतिक प्रगति ७५ प्रतिशत मात्र रहेको हुलाकी सडक आयोजना कार्यलय इटहरीका इञ्जिनियर खतिवडाले बताए । लामा बाम्ती जेभीले नै ठेक्का पाएको मेची–रतुवा खण्डको लेहेरा खोला पुलसमेत अलपत्र छ । ४ करोड ६४ लाख ४१ हजार १ सय ६० रुपैयाँमा ठेक्का लागेको सो पुल २०७३ असारमा निर्माण सुरु भएर २०७५ असारमा सम्पन्न भइसक्नुपर्नेमा अहिलेसम्म ८० प्रतिशत मात्र काम सकिएको आयोजना कार्यलयले जनाएको छ । आयोजना कार्यलयले भने पछिल्लो समय ठेकेदारले काममा तीव्रता दिएको जनाएको छ ।

हुलाकी राजमार्ग बन्न सुरु भएसँगै आफ्नो जीवनस्तरमा सुधार आउने अपेक्षा गरेका स्थानीयका लागि अलपत्र पुल बाधक बनेको छ । पुल बनेलगत्तै सडक सञ्चालनमा आउने र आफ्ना उत्पादन बजारसम्म पुग्नेमा स्थानीय आशावादी छन् । स्वास्थ्य, शिक्षा, रोजगारी र ब्यापारले स्थानीयको आर्थिक क्षेत्रको समेत विकासमा टेवा पुर्‍याउने पहिलो आधार सडक नै भएकाले तत्काल पुल निर्माण कार्य सक्नुपर्ने उनीहरुको भनाइ छ ।